सुर्खेत। राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशबाट ६ जनाले उम्मेदवारी दिएका छन्। माघ १२ गते हुने निर्वाचनका लागि कर्णाली प्रदेशबाट एमालेका तीन जना र सत्ता गठबन्धन दलबाट तीन जनाले उम्मेदवारी दिएका छन्।
यो निर्वाचनबाट कर्णाली प्रदेशबाट तीन जना सदस्य चयन हुँदैछन्। कर्णाली प्रदेशमा खुला, महिला र अपांगता वा अल्पसंख्यकतर्फको सदस्य पद रिक्त हुन लागेको छ।
पदहरुमा एमालेबाट महिलामा जुम्लाकी गंगा थापा महत, खुलामा सुर्खेतका चुँडामणि शर्मा र अपांगता वा अल्पसंख्यकमा दैलेखका पदमबहादुर माझीले उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली काँग्रेस, अपांगतातर्फ माओवादी केन्द्र र खुलामा नेकपा (एकीकृत समाजवादी)ले भाग पाएका छन्।
महिलातर्फ काँग्रेसबाट सुर्खेतकी दुर्गाकुमारी गुरुङ, अपांगतातर्फ सुर्खेतकै माओवादी केन्द्रका नरबहादुर विष्ट र खुलातर्फ समाजवादीबाट सल्यानका उदय बोहराले उम्मेदवारी दिएका छन्।
मंगलबार उनीहरुले कर्णाली प्रदेश निर्वाचन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराईसकेका छन्।
कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावमा मतदान गर्न जम्मा १९१ मतदाता छन्। उनीहरुको मतभार ४ हजार ४८८ छ।
मतदातामध्ये ३५ जना प्रदेश सभा सदस्य छन्। प्रदेश सभा सदस्यको मतभार एकजना बराबर बराबर ४८ हुन्छ। यस्तै एक जना बराबर १८ मतभार हुने स्थानीय तहका प्रमुख/उपप्रमुखहरुको संख्या १५६ छ।
कर्णाली टाइम्स
मंगलबार, पुस २०, २०७८