आइतवार, असार १५, २०८२

बयलकाँडा गढीमा राखियो पृथ्वीनारायण शाहको शालिक

  
कर्णाली टाइम्स मंगलबार, पुस २७, २०७८


सुर्खेत। सुर्खेतको बयलकाँडा गढीमा पृथ्वीनारायण शाहको शालिक राखिएको छ। वीरेन्द्रनगर–१४ गोठीकाँडास्थित ऐतिहासिक बयलकाँडा गढीमा नेपाली सेनाले पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राखेको हो।
मंगलबार पृथ्वीनारायण शाहको ३०० औं जयन्तीका अवसरमा नेपाली सेनाका पश्चिम कमाण्डर हेडक्वाटर निमारे सुर्खेतका उपरथी प्रेम शाहीले अनावरण गरेका हुन्। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदमबहादुर बिष्ट* लगायतका प्रमुख तथा पदाधिकारीहरु शालिक अनावरणमा सहभागी भएका थिए।
सेनाको कालीबक्स गणा (ई) तथा नयाँ सबुज गणको सहकार्यमा उक्त शालिक गढीमा राखिएको हो। सैनिक जवान केशव आचार्यले शालिक बनाएका हुन्।
नेपाली सेनाले ऐतिहाँसिक सम्पदा एवम् स्थलहरुको संरक्षण गर्नेक्रममा सुर्खेतको बयलकाँडा गढी संरक्षणका लागि पनि दायित्व लिएको छ। उपरथी शाहीले सांस्कृतिक सम्पदाको संरक्षणका लागि नेपाली सेनाले पनि छुट्टै तरिकाबाट भूमिका खेलेको बताए।
५ कट्ठा १३ धुर जग्गामा रहेको बयालकाँडा गढी इतिहासमा बाईसे–चौबिसे राज्य हुँदा राज्यको रक्षा गर्न बनाईएको ईतिहास छ।

(यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुखको नाम अन्यथा पर्न गएकोले सच्याईएको छ- सम्पादक)