आइतवार, पुस ६, २०८२

शिक्षालाई गुणस्तर बनाउन सबैले दायित्व पूरा गरौं: मन्त्री बुढा

  
कर्णाली टाइम्स आइतवार, फागुन १, २०७८


सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबैले आफ्नो तर्फबाट दायित्व पूरा गर्नुपर्ने बताएका छन्।
आइतबार भेरीगंगा-१० को प्रभात माध्यामिक विद्यालयको नयाँ भवनको शिलान्यास गर्दै उन भने, ‘बालबालिकालाई गुणस्तरीय शिक्षा दिनका लागि अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र सबै तहका सरकारले आफ्नो दायित्व पूरा गर्न जरुरी छ। शिक्षाको माध्यमबाट मात्रै कर्णालीको विकास अगाडि बढ्छ।’
गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले कुनै कसुर बाँकी नराख्ने उनले बताए। सरकारी तहबाट आउने विकास निर्माणलाई समयमा सम्पन्न गरी पारदर्शिता अपनाउन मन्त्री बुढाक्षेत्रीले जनप्रतिनिधिलाई आग्रह गरे।
शिक्षा नै विकासको मेरुदण्ड भएकोले शिक्षालाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए।
शिलान्यास कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले प्रदेश सरकारबाट स्थानीय तहलाई भएको सहयोग महत्वपूर्ण भएको बताए।