सुर्खेत। नेकपा एमालेले सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाअभियोग लगाउने तयारी गरेको छ। सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाएसँगै त्यसलाई काउन्टर दिन उनीहरुमाथि महाअभियोग लगाउने तयारी गरेको हो।
आइतबार बसेको एमाले सचिवालय बैठकमा सर्वोच्चका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईलाई महाअभियोग लगाउनुपर्ने धारणा नेताहरुले राखेका थिए।
असार २८ गतेको फैसलाले अहिलेको अस्थिरता निम्तिएको ठहर गर्दै एमालेले प्रधानन्यायधीशलाई महाअभियोग लगाउने भए त्यो फैसला दिने अन्य चार न्यायधीशलाई समेत महाअभियोग लगाउनुपर्ने तर्क गरेको छ।
असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो।
सत्ता गठबन्धनले कुनै स्थानीय तहको प्रमुखलाई रिट दिन लगाएर चुनाव सार्न सक्नेमा समेत एमालेको आशंका छ। त्यसकै लागि सत्ता गठबन्धनले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई प्रयोग गरेर अदालतमा आफूले भने अनुसार फैसला गराउन खोजेको एमालेको आरोप छ।
सर्वदलीय बैठकमा एमाले नजाने
सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ। सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ।
सांसदहरुमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ।
सभामुख अग्नि सापकोटाले सोमबार दुई बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न लागेका हुन्।
कर्णाली टाइम्स
सोमवार, फागुन २, २०७८