सुर्खेत। पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदैछ।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।
विधिपूर्वक एक महिने ब्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगेर बहाउने ब्रत विधि छ।
सय रोटी ब्रतालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।
यसैबीच पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालुले बुधबार समापनअर्थात् सांगेका लागि साँखु र त्यस वरपरका मानिसलाई निम्ता गरेका छन्।
साँखु र त्यस वरपरको क्षेत्रमा बुधबार बेलुकी व्रत समापनका लागि शंख बजाएर निमन्त्रणा गरिएको हो। व्रत समापनको निमन्त्रणा बज्रयोगिनी माईलगायत साँखु बजार बाहिर पनि सुन्ने गरी गर्ने प्राचीनकालदेखिको विधि छ। व्रत समापनलाई स्थानीयवासीले अश्वमेध यज्ञ गर्ने पनि भन्छन्।
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ। साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ व्रत बसेका छन्। माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकांक्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ।
कर्णाली टाइम्स
बुधबार, फागुन ४, २०७८