सुर्खेत। कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगित गरेको छ। सर्वोच्च अदालतले आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशपछि पूर्वनिर्धारित परीक्षा स्थगित गरेको हो।
फागुन १४ देखि चैत २६ गतेसम्म परीक्षा तालिका तोकिएको थियो। प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदको लागि कर्णाली प्रदेश लोकसेवाले विज्ञापन गरेको थियो।
आयोगको विज्ञापन समावेशी नभएको भन्दै माघ २६ गते सर्वोच्च अदालत रिट निवेदन दायर गरिएको थियो।
आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि आयोगले लिने सबै पदको लिखित परीक्षा स्थगन गरिएको बताए।
कर्णाली प्रदेश लोकसेवा आयोगले गत पुस २७ गते अप्राविधिक तथा प्राविधिक पाँचौँ तहको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो।
कर्णाली टाइम्स
मंगलबार, फागुन १०, २०७८