
सुर्खेत। कालीकोटका कृष्ण हमालको मृत्यु प्रकरणमा उनका बुवाले वीरेन्द्रनगर–११ मा रहेको सुब्बाकुना प्रहरी चौकीका ईञ्चार्ज शेरसिंह धामीविरुद्ध किटानी जाहेरी दिएका छन्। हमालका बुवा हिराचन्द्र हमालले सहायक प्रहरी निरीक्षक धामीविरुद्ध दिएको जाहेरी दर्ता भएसँगै धामीलाई नियन्त्रणमा लिईएको छ।
शुक्रबार राति नेपालगञ्जबाट आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का हमालको प्रहरी प्रहरीको निगरानीपछि शनिवार बिहान मृत्यु भएको थियो।
वीरेन्द्रनगरको प्रवेशविन्दू सुब्बाकुनामा रहेको प्रहरी चौकीले गाडीसहित हमाल र अर्का एकजनालाई आफ्नो निगरानीमा रहेको थियो।
हमाल शुक्रबार राति भे १ क ९२२ नम्बरको मिनी ट्रकमा नेपालगञ्जबाट आफ्नो पसलको सामान ल्याएर आएका थिए।
उनको जाहेरी दर्ता भईसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार असई धामीलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ।
कालीकोटको नाग्ममा रहेको आफ्नो किराना पसलको लागि हमाल शुक्रबार नेपालगञ्जबाट सामान लिएर आएका थिए। उक्त ट्रक करिब साढे ११ बजेतिर वीरेन्द्रनगरको सुब्बाकुना पुगेको थियो।
सुब्बाकुनामा रहेको प्रहरीचौकीले ट्रक र कागजात चेकजाँच गर्नेक्रममा ट्रकका चालक र हमालमाथि असई धामीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन्।
पीडित पक्षका अनुसार त्यसपछि प्रहरीले हमालले मादक पदार्थ सेवन गरेको र ट्रकको कागजात नभएको भन्दै ट्रकलाई शनिबार बिहानसम्म सुब्बाकुनामै रोकिदिएको थियो। ट्रक रोकिएपछि उनीहरु पनि राति त्यही ट्रकमा सुतेका थिए।
भोलिपल्ट शनिबार बिहान प्रहरीले पुर्जी काटेर ट्रक र छोडेको थियो। त्यसपछि बजारतर्फ आउनेक्रममा बीच बाटोमा हामलले बोल्न छोडेका थिए। उनलाई उपचारका लागि सुर्खेत अस्पताल प्रालि पु¥याईएको थियो। अस्पतालले शनिबार बिहान सव १० बजे उनलाई मृत घोषणा गरेको थियो।
हमालको मृत्युले प्रहरीको कुटाईबाट भएको आरोप आफन्तले लगाएपनि प्रहरी भने यसबारेमा प्रष्ट बोलेको छैन।
हमालको शव पोष्टमार्टमको प्रक्रियामा रहेको जिल्ला प्रहरी कर्यालय सुर्खेतले जनाएको छ।
यो घटनाको छानविनका लागि शनिबार सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति पनि बनेको छ। समितिले आइतबारदेखि लागु हुनेगरी सात दिनभित्र छानविन गरी प्रतिवेदन बुझाउनुपर्नेछ।
