आइतवार, पुस ६, २०८२

सुर्खेतमा एक्लिएको हिमाली गिद्धलाई थप उपचारका लागि नवलपरासी पठाईयो

  
कर्णाली टाइम्स सोमवार, बैशाख ५, २०७९


सुर्खेत। सुर्खेतका काँक्रेबिहारमा राखेर एक महिना उपचार गरिएको हिमाली गिद्धलाई थप उपचार तथा व्यवस्थापनका लागि नवलपरासी पठाईएको छ। जिल्ला वन कार्यालयको समन्वयमा स्थानीय युवा नवराज बोहोराले उक्त गिद्धलाई नवलपरासी पुर्याएका छन्। बोहोराले विभिन्न व्यक्तिहरुसँग समन्वय गरी काँक्रेबिहारमा हुँदा उक्त गिद्धलाई उपचार तथा खानाको व्यवस्था गरेका थिए।
समूहबाट छुटेर सुर्खेतमा एक्लिएको उक्त हिमाली गिद्ध सोमबार नवलपरासीमा रहेको जटायु रेष्टुरेन्टलाई जिम्मा लगाइँदै छ।
दुई महिनाअघि समूहबाट छुटेको यो हिमाली गिद्धलाई डिभिजन वन कार्यालय वीरेन्द्रनगरबाट खटिएको गस्ती टोलीले उद्दार गरी वीरेन्द्रनगर ल्याएको थियो। आफ्नो समूहबाट छुटेपछि एक्लै परेको दुर्लभ पंक्षी मानिने हिमाली गिद्धलाई केही समय डिभिजन वन कार्यालय सुर्खेतमा पनि राखिएको थियो ।
सुर्खेतमा सामान्य उपचारपछि गिद्धलाई थप उपचारका लागि जटायु रेष्टुरेन्ट पुर्याउन लागिएको बोहोराले बताए।
यो गिद्ध कसरी सुर्खेतमा आएर एक्लियो भन्ने यकिन छैन। यसलाई स्याहार गरिरहेकाहरुले सुर्खेतको आकाशमा आफ्नो समूहमा उडिरहेका बेला कुनै अवरोध भएपछि छुट्टिएको हुनसक्ने अनुमान गरेका छन्।
डिभिजन वन कार्यालयका अनुसार उक्त गिद्ध वीरेन्द्रनगर उपत्यकाभन्दा माथि झन्डै ३० किलोमिटर आसपासमा पर्ने जंगलमा भेटिएको हो। उड्न नसक्ने अवस्थामा भेटिएपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए।
वनले उद्दार गरेर केही समय आफूसँग राखेपछि काँक्रेबिहारमा लगेर छोडिदिएको थियो।

यो पनि पढ्नुहोस्:

समूहबाट छुटेपछि एक्लिएको हिमाली गिद्ध