
निर्वाचनको पूर्वसन्ध्यामा सुर्खेतको एक होटलमा थानी समूहले गरेको गुटको भेला
सुर्खेत । मनोनयनको समय करिब २ घण्टा बाँकी थियो– कांग्रेस महामन्त्री गगनकुमार थापाले सुर्खेतमा संस्थापन इतर भनेर चिनिने हृदयराम थानी समूहका एकजना नेतालाई फोन गरेर भने– नारायण कोइरालाजीलाई वीरेन्द्रनगरको मेयरमा उम्मेदवारी हाल्न लगाउनुहोस् । थापाले त्यसै फोन गरेका थिएनन्, उनले संस्थापन समूहका नेता उपसभापति पूर्णबहादुर खड्कासँग समेत परामर्श गरेर उक्त आग्रह गरेका थिए । तर थानी समूहले उम्मेदवारी दर्ता गर्न मानेन ।
वीरेन्द्रनगरमात्र होइन, थानी समूहले सुर्खेतका कुनै पनि स्थानीय तहमा संस्थापन पक्षले आग्रह गर्दासमेत उम्मेदवारी दर्ता गर्न मानेन । संस्थापन समूहका एक नेताका अनुसार उम्मेदवारीबारे छलफल गर्नको लागि पटक–पटक सम्पर्क गर्दासमेत उक्त समूहले अटेरी गरिरह्यो । बरु सत्तारुढ दलबीच चुनावी गठबन्धनको लागि रस्साकस्सी भइरहँदा त्यसलाई प्रभावित गर्ने गरी वीरेन्द्रनगरको एक होटलमा छुट्टै भेला आयोजना ग¥यो । जसको उद्देश्य गठनबन्धन बिथोल्नु रहेको उक्त समूहका एकजना नेताले बताए ।
समूहकै एक नेताका अनुसार स्थानीय तह निर्वाचनमा थानी समूहले ‘बहिस्कारको नीति’ अहिले एकाएक बनाएको होइन । पार्टीको १४ औं महाधिवेशनबाट जिल्लामा रहेको २ दसकभन्दा लामो एकछत्र पकड गुमाएपछि बहिस्कारको नीति बनाइएको हो । यसको प्रमुख उद्देश्य हो– जिल्लामा संस्थापन पक्षलाई काम गर्न नदिने र जिल्लाका नेता पूर्णबहादुर खड्कालाई गृहजिल्लाबाटै असफल बनाउने प्रयास गर्ने ।
यसको सुरुवात निवर्तमान जिल्ला सभापति कमलराज रेग्मीले महाधिवेशन सकिएको ३ महिना नपुग्दै गरेका थिए । पार्टीको विधानमा कुनै पनि तहको निर्वाचनमा सभापति पदका निकटतम प्रतिद्वन्द्वी स्वतः सम्बन्धित कार्य समितिको सदस्य हुने प्रावधान रहेको छ । १४ औं महाधिवेशनमा थानी समूहको जिल्ला सभापतिमा उम्मेदवारसमेत नभएपछि खड्गबहादुर पोख्रेल निर्विरोध रुपमा जिल्ला सभापति निर्वाचित भए । निर्वाचन नभएकोले स्वतः जिल्ला कार्य समिति सदस्य कोही पनि हुने अवस्था रहेन । उनले निर्वाचित भएपछि अर्को समूहलाई समेत समेट्ने मनसायका साथ रेग्मीलाई जिल्ला कार्य समितिको सदस्य मनोनीत गरे । तर रेग्मीले फागुन ६ गते प्रेस विज्ञप्ति नै जारी गरेर सदस्य पद अस्वीकार गरे । ‘पार्टीभित्र एकताको सुरुवात गर्ने र सबै पक्षलाई समेट्ने उद्देश्यका साथ रेग्मीलाई वरिष्ठ सदस्यको रुपमा मनोनीत गरिएको थियो,’ जिल्ला कार्य समितिका एक पदाधिकारीले भने, ‘तर उहाँले कार्य समितिमा बस्न अस्वीकार गरेर असहयोगको नांगो चरित्र देखाउनु भयो ।’ नयाँ नेतृत्वलाई ३ महिना नपुग्दै असहयोग गर्नुले उतिबेलै उक्त समूहको योजना स्पष्ट रहेको उनले बताए ।

समूहका नेता थानीले समेत पार्टीको महाधिवेशनमा पराजय भए लगत्तै अब आफू कुनै पनि निर्वाचनमा नलड्ने बताउने गरेका छन् । । यसको अर्थ ‘आफू पनि चुनाव नलड्ने र पार्टीबाट चुनाव लड्ने (केन्द्रीय उपसभापति खड्का समेत) लाई पनि देखाइदिने’ भन्ने रहेको संस्थापन समूहको बुझाइ रहेको छ । ‘हामी स्थानीय तह निर्वाचनबाटै सबैलाई समेटेर अघि बढ्न चाहन्थ्यौं, तर उहाँहरुले वार्ता र संवादसमेत गर्न चाहनु भएन,’ ती नेताले भने, ‘यसले भविष्यमा उहाँहरुलाई मात्र होइन, समग्र पार्टीलाई नोक्सानी गर्नेछ ।’
समूहको शक्ति आर्जन गर्ने रणनीति
स्थानीय तह निर्वाचनमा सुर्खेतमा गठबन्धन दलहरुले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने गरि उम्मेदवारी दर्ता गरेका छन् । यद्यपि सत्ता गठबन्धनबीच संवादको प्रयास जारी छ । केही दिनभित्र सहमति गरेर तालमेल हुने गठबन्धनका नेताहरु बताउँछन् । यस्तो अवस्थामा कांग्रेसभित्र एकताको खाँचो छ । तर थानी समूहले स्थानीय निर्वाचनलाई आफ्नो समूहको शक्ति आर्जन गर्ने अवसरको रुपमा उपयोग गर्ने रणनीति बनाएको छ । आफूले पनि उम्मेदवारी नदिने र संस्थापन समूहबाट उम्मेदवारी नपाएर रुष्ट भएकालाई पनि आफूतिर तान्ने प्रयास भएको सोही समूहका एक नेताले बताए । ‘हाम्रो समूहका कतिपय साथीहरुले चुनाव लड्नको लागि तयारी नगर्नु भएको होइन, तर हाम्रो नीति नै चुनाव नलड्ने भएपछि चुपचाप बस्न तयार हुनुभयो,’ ती नेताले भने ।
वीरेन्द्रनगर नगरपालिकाकै वडा नं. १ मा वडा सभापति नवल गिरीलाई वडाध्यक्षमा उम्मेदवारी दिन पटकपटक आग्रह गरिएको थियो । तर उनले उम्मेदवारी दिन मानेनन् । ‘यो एक उदाहरण मात्र हो, मिलेर चुनाव लडौं, इच्छुक उम्मेदवारको नाम दिनुहोस् भनेर हामीले पटकपटक आग्रह ग¥यौं,’ जिल्ला कार्य समितिका एक पदाधिकारीले भने, ‘तर उम्मेदवार बन्न खोज्नेलाई रोकेर के गर्न खोज्नु भएको हो, थाहै भएन ।’
थानी समूहले स्थानीय तह निर्वाचनमा पार्टीभित्र आफ्नो समूहको असन्तुष्टिको प्रमुख कारण खोजेअनुसार भाग नपाएको बताएको छ । उक्त समूहले पार्टीले पाउने भागबाट ४० प्रतिशत हिस्सा खोजेको छ । संस्थापन पक्षले उक्त हिस्साबारे संवादमार्फत संवोधन गर्न नखोजेको होइन । तर छलफलको लागि तयारै नहुँदा समस्या भएको संस्थापन पक्षको भनाइ छ । ‘हामीले बसेर छलफल गरौं, मिलेर जाऔं भनेर नभनेको होइन,’ संस्थापन समूहका एक जिल्ला पदाधिकारीले भने, ‘तर उहाँहरु संवादमा आउनुको साटो गुटको छुट्टै भेला बोलाएर जानुभयो, चुनावको मुखमा अनुशासनहीन काम गर्दासमेत पार्टी नेतृत्वले संयमताका साथ मिलाएर अघि बढ्ने नीति लिएको छ ।’
खड्काको तेजबोध गर्ने प्रयास
थानी समूहले असहयोगको नीति लिनुको अर्को महत्वपूर्ण कारण हो– राष्ट्रिय राजनीतिमा उचाइ बनाएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई उनको गतिमा अवरोध गर्नु । अथवा तेजबोध गर्ने प्रयास । अहिले खड्काले पार्टीको तर्फबाट केन्द्रीय निर्वाचन परिचालन समितिको कमाण्ड सम्हालिरहेका छन् । उनी पार्टी र सरकारमा महत्वपूर्ण संयोजनकारी भूमिकामा रहेका छन् । जिल्लामा आफ्नो प्रतिस्पर्धी ठान्ने थानी समूहले खड्कालाई उनको गृहजिल्लामै विवाद देखाएर असफल बनाएको सन्देश दिन खोजिरहेको छ । ‘देशभरको कमाण्ड गर्ने खड्कालाई उनको गृहजिल्लामै कांग्रेसको पराजय भएपछि त्यसले ठूलो अर्थ राख्नेछ, आगामी संसदीय निर्वाचनमा पनि उनीमाथि नैतिक दवाव पर्नेछ,’ थानी समूहको रणनीतिबारे जानकार एक नेताले भने, ‘त्यसैले उनीहरु कुनै पनि बहानामा पार्टीलाई एक ढिक्का हुन नदिने र खड्कालाई उनको गृहजिल्लामै अप्ठेरो पार्ने योजनामा देखिन्छन् ।’
पार्टीको १३ औं महाधिवेशनमा सुर्खेतमा मात्र होइन, सिंगो कर्णालीमै संस्थापन समूह निकै कमजोर अवस्थामा थियो । १४ औं महाधिवेसनबाट भने संस्थापन समूहको वर्चश्व छ । यसमा उपसभापति खड्काको प्रभावले काम गरेको थियो । जिल्ला र प्रदेशमा बलियो भएकै कारण खड्काले केन्द्रीय उपसभापतिमा सहज जित हात पारेका थिए । ‘त्यसैले गृहजिल्ला र गृहप्रदेशबाट अहिल्यैदेखि अवरोध नगर्ने हो भने खड्काको अबको राजनीतिक रफ्तारले थप गति लिने भय थानी समूहलाई देखिन्छ,’ कांग्रेसनिकट एक राजनीतिक विश्लेषकले भने, ‘थानी समूह पार्टी एकताबाट टाढा हुन खोज्नुको एक प्रमुख कारण यही हो ।’
समूहको लागि आत्मघाती कदम
थानी समूहको लागि यो रणनीति स्वयंको लागि निकै घातक हुने कार्यकर्ताहरुको भनाइ छ । राजनीतिमा जो शक्तिमा रहन्छ, उसले आफ्नो पक्षमा बढी भाग खोज्नु स्वाभाविक हुने गर्छ । हिजो संस्थापन इतरमा रहँदा केन्द्रीय सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग निकै संघर्ष गरे । अहिले संस्थापन इतर समूहका नेता शेखर कोइरालाले देउवासँग भागको लागि संघर्ष गरिरहेका छन् । उनले संवादकै माध्यमबाट गृहनगर विराटनगरमा आफ्नो समूहलाई मेयरको उम्मेदवार दिलाएका छन् । थानी समूहले भने सुर्खेतमा पाएको भाग पनि नलिएर गलत गरेको उनीनिकटकै कार्यकर्ताहरुको भनाइ छ । ‘४० प्रतिशतै नभए पनि सम्मानजनक संख्यामा टिकट पाएको भए पार्टीलाई फाइदा हुने थियो,’ ती कार्यकर्ताको भनाइ छ, ‘चुनाव बहिस्कार गरेजस्तो गर्दा पार्टीलाई भन्दा हाम्रै समूहलाई नोक्सानी भएको छ, यो हाम्रो समूहको लागि निकै आत्मघाती छ ।’

