बिहीबार, पुस १०, २०८२

वीरेन्द्रनगरमा कांग्रेस र माओवादीबीच गठबन्धन

  
कर्णाली टाइम्स शनिबार, बैशाख १७, २०७९


सुर्खेत। स्थानीय निर्वाचन २०७९ का लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ। शुक्रबार भएको छलफलका क्रममा नेकपा माओवादी केन्द्रलाई उपमेयर दिने सहमति भएको थियो।
सहमति अनुसार नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका राजेन्द्रदेव गिरी र कांग्रेसबाट उपमेयरमा उम्मेदवार बनेकी रामकुमारी थापाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
गठबन्धनभित्र रहको दल नेकपा (एकीकृत समाजवादी)ले भने वीरेन्द्रनगरमा आफ्नो उम्मेदवारी कायमै राखेको छ।
अन्तिम नामावली अनुसार वीरेन्द्रनगर नगरपालिकाकामा अब मेयर र उपमेयर पदमा १३/१३ जना उम्मेदवार छन्।
मेयर पदका लागि नेपाली कांग्रेसबाट उपेन्द्रबहादुर खड्का, जनता समाजवादी पार्टीबाट गगनबहादुर सारू, नेपाल मजदुर किसान पार्टीबाट गोविन्द नाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी, राष्ट्रिय नागरिक पार्टीबाट टिकाराम रेग्मी, नेपाल परिवार दलबाट दिनेशप्रसाद काफ्ले नेकपा (एकीकृत समाजवादी) बाट धन कुमारी जिसी नेपाल दलित पार्टीबाट निलकण्ठ भुषाल, राष्ट्रिय जनमोर्चाबाट विष्णुप्रसाद शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्दश्याम गिरी, नेकपा एमालेबाट मोहनमाया भण्डारी उम्मेदवार छन् छन् भने भीमप्रसाद शर्मा र उमानन्द पंगाली स्वतन्त्र उम्मेदवार छन्।
उपमेयर पदका लागि राष्ट्रिय जनमोर्चाबाट कृष्णकुमारी रावल, नेकपा (समाजवादी) बाट डिलमाया आले मगर, नेकपा एमालेबाट निलकण्ठ खनाल, राष्ट्रिय नागरिक पार्टीबाट पवित्रा कुमारी शर्मा, नेपाल दलित पार्टीबाट भुमिसरा विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी कुमारी सार्की, नेपाल मजदुर किसान पार्टीबाट बिजुकला राना, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट विमला पुन मगर, नेकपा (एकीकृत समाजवादी) बाट बिरबहादुर रावत, नेकपा (माओवादी केन्द्र) बाट शान्ति ढकाल र जनता समाजवादी पार्टी नेपालबाट सन्तोषी विश्वकर्मा उम्मेदवार छन् भने स्वतन्त्रबाट अनिल ढकाल र भोजप्रसाद चपाई उम्मेदवार छन्।
गठबन्धन दलबीच कर्णाली प्रदेशका आठ वटा जिल्लामा पालिका भागबण्डाको टुंगो लागे पनि सुर्खेत र रूकुम पश्चिममा भने सहमति जुटेको थिएन। यी दुई जिल्लाहरुमा अन्तिम समयसम्म गठबन्धनको लागि प्रयास गर्ने भनिएको थियो।