बुधबार, पुस ९, २०८२

भोट माग्दै घरदैलोमा उम्मेदवारहरु

  
कर्णाली टाइम्स सोमवार, बैशाख १९, २०७९


सुर्खेत। स्थानीय तहको निर्वाचन २०७९ को लागि उम्मेदवारहरुले वीरेन्द्रनगरमा घरदैलोमा पुगेर मत माग्न थालेका छन्। निर्वाचन आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरेसँगै उनीहरु घरदैलोमा पुगेर भोट माग्न थालेका हुन्।
उनीहरु आफ्ना प्रचारप्रसार सामग्री बोकेर नेता तथा कार्यकतासहित घरदैलोमा पुगेर मत मागिरहेका छन्।
निर्वाचनमा आफ्नो पक्षमा मत पार्न घरदैलो अभियान जारी राखिएको नेपाली काँग्रेसका सुर्खेत जिल्ला सचिव देवकुमार सुवेदीले बताए। ‘दिगो सहरी विकासको योजना, सहरी स्वास्थ्य पूर्वाधार, उपत्यकाको खानेपानी समस्या समाधान जस्ता कुरालाई प्रमुख चुनावी एजेन्डा बनाएका छौं,’ सचिव सुवेदीले भने, ‘गठबन्धन भएका नगर र वडामा संयुक्त रुपमा चुनावी प्रचारप्रसार थालेका छौं।’

वीरेन्द्रनगर-६ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार जनकबहादुर रावलको समूह पनि वडाभित्र घरदैलो अभियानमा लागिरहेको छ।
वीरेन्द्रगनरमा सत्ता गठबन्धन दलको निर्णय अनुसार गठबन्धन दल र अरु दलबीच चुनावी प्रतिस्पर्धा छ। सत्ता गठबन्धन भित्रका दलहरु कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले संयुक्त रुपमा घरदैलोमा पुगेर चुनावी तालमेल अनुसार मतदान गर्न आग्रह गरिरहेका छन्।
नेकपा एमाले लगायतका कतिपय दलहरु भने छुट्टाछुट्टै चुनावी अभियानमा लागेका छन् ।
स्थानीय तह निर्वाचन, २०७९ का लागि वीरेन्द्रनगर नगरपालिकामा मेयर र उपमेयरसहित ४४७ जना चुनावी मैदानमा छन्।