
सुर्खेत। डोल्पामा दुई गाउँपालिका अध्यक्ष निर्विरोध भएका छन्। एकीकृत समाजवादीबाट उम्मेदवार रहेका काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा अध्यक्ष निर्विरोध भएका हुन्।
यी दुई गाउँपालिका अध्यक्षमा र डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षमा एकीकृत समाजवादीबाट एकल उम्मेदवारी परेको थियो।
काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना निर्विरोध भए। कार्काताङसोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरुङ निर्विरोध भए भने डोल्पोबुद्धको उपाध्यक्षमा पेमा वाङ्जु गुरुङ निर्विरोध भइन् ।
अध्यक्ष निर्विरोध भएका राना र गुरुङ भने ०७४ को स्थानीय चुनावबाट पनि अध्यक्ष जितेका थिए। उनीहरु हालै नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा गएका थिए। डोल्पाका निर्वाचन अधिकृत सुमन राईका अनुसार एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन्।
साथै काइके ७ को वडाध्यक्षमा रामचन्द्र रोकाया, डोल्पोबुद्ध गाउँपालिका ४ का वडाध्यक्षमा लावाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका ६ को वडा अध्यक्षमा नर्बु गुरुङ, छार्का ताङसोङ ५ मा साङ्बो गुरुङ र छार्का ३ मा वाङ्जु गुरुङ वडाध्यक्षमा निर्विरोध भएका छन्।
कर्णाली टाइम्स
मंगलबार, बैशाख २०, २०७९
