
सुर्खेत। सुर्खेतमा दुई वटा गाडीमा आगजनी भएको छ। वीरेन्द्रनगर–६ जुम्ला रोडमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले आगजनी गरेको हो।
गएराती २ बजे र २ः३० दुईवटा गाडीमा आगजनी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। २ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको हो।
सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्कार्पियो नेपाली कांग्रेस र मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए।
नजिकै रहेको मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगजनी भएको खबर गरेपछि नगर प्रहरी पुगेर आगो नियन्त्रणमा लिएको थियो।
आगलागीबाट स्कर्पियोको टायर र बडीमा क्षति भएको छ। मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।
कर्णाली टाइम्स
शनिबार, बैशाख २४, २०७९
