
सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीत तहमा गठबन्धनका आधिकारिक उम्मेदवारले गरेका विकासका संकल्प पूरा गर्न केन्द्रबाट चाहिने आवश्यक बजेटको कमी हुन नदिने बताएका छन्।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले गठबन्धनका उम्मेदवारलाई विश्वासका साथ जिताउन आग्रह गरे।
‘अहिले यहाँ गठबन्धनका उम्मेदवारहरुले गरेको संकल्प पूरा गर्नका लागि स्थानीय तहमा भएको बजेटका अलावा केन्द्रबाट आवश्यक पर्ने बजेट पठाउने ग्यारेन्टी म गर्छु,’ चुनावी सभालाई सम्बाधेन गर्नेक्रममा उनले भने।
उपसभापति खड्काले दलका आन्तरिक विधान एवम् नियमभित्र रही गठबन्धनका आधिकारिक उम्मेवादरलाई स्थानीय चुनावमा जिताउन आग्रह गरे। संविधानको रक्षा र पिछडिएका, सिमान्तकृत वर्गका माग पूरा गर्न नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बनेको उनको भनाई थियो।
‘कुनै उम्मेदवारलाई जिताउन र कुनैलाई हराउनका लागि भनेर गठबन्धन भएको होईन, संविधानको रक्षा र देशको हितको लागि बनेको हो,’ उपसभापति खड्काले भने।
निर्वाचनको नजिक पार्टी भित्रका असहमति र गुनासो भए आन्तरिक बसाईबाट टुंग्याउन आग्रह गर्दै उनले नेता र नेतृत्वबाट भएका कमजोरीलाई निर्वाचन पछि सच्याईने बताए।
कर्णाली टाइम्स
सोमवार, बैशाख २६, २०७९
