बिहीबार, पुस १०, २०८२

पाँच दलीय गठबन्धन संविधानको रक्षा गर्न बनेको होः काँग्रेस उपसभापति खड्का

  
कर्णाली टाइम्स मंगलबार, बैशाख २७, २०७९


सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले लोकतन्त्र र संविधानको रक्षाका लागि स्थानीय तहको चुनावमा दलीय गठबन्ध गरिएको बताएका छन्। मंगलबार सुर्खेतको सिम्तामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले काँग्रेसको नेतृत्वमा बनेको यो गठबन्धनको उद्देश्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार र उनको गणतन्त्र विरोधी गतिविधिको प्रतिकार गर्दै लोकतन्त्रको आधार स्तम्भलाई जोगाउनु रहेको बताए।
‘प्र्रतिगमनकारी कदम, गणतन्त्र विरोधी, लोकतन्त्र र संविधान विरोधी कदमलाई रोक्नकै लागि पाँच दलीय गठबन्धन भएको हो,’ उनले भने, ‘जनताका सदिऔंदेखि तोकिएका अधिकारलाई कुण्ठित गर्ने काम एमाले अध्यक्ष ओलीले गरेको गतिविधिलाई अघि बढ्न नदिन गठबन्धनको महत्वपूर्ण भूमिका रहनेछ।’
नेकपा एमालेमा व्याप्त प्रतिगमनलाई सहन नसकेर माधव नपालले पार्टी फुटाएर एकिकृत समाजवादी पार्टी बनाएको उनले बताए।
उपसभापति खड्काले गठबन्धन कुनै उम्मेदवारलाई जिताउन र कुनै उम्मेदवारलाई हराउन नभई संविधानको रक्षाका लागि भएको बताए। उनले गठबन्धनको विरोधमा जाने नेता तथा कार्यकर्तालाई पार्टीले कारबाही गर्ने बताए।
उनले सिम्ता क्षेत्रको विकासका लागि आफू सधैं प्रतिवद्ध रहेको विश्वास दिलाएका छन्। गठबन्धनका उम्मेदवारलाई जिताएमा अबको दुई बर्षभित्र पूर्वी सुर्खेतका बाँकी रहेका सडकहरु कालोपत्रे गर्ने उनको भनाई थियो।
सिम्ता क्षेत्रमा बिजुली, सिंचाई, खानेपानी तथा प्रविधिको विकासका लागि एक अर्ब चालिस करोड बजेट जलस्रोत मन्त्रालयसँग सम्झौता भईसेकेको बताउँदै खड्काले उक्त बजेटबाट आवश्यक विकास गरिने बताए ।
‘तपाई गठबन्धनको मतदाता बन्नुस्, गरेका कामको प्रचार गर्नुस्,’ उनले भने, ‘कामै नगरेर एमालेको जस्तो गलत प्रचार नगर्नुस्।’
उपसभापति खड्काले मंगलबार सिम्तासँगै, गुर्भाकोटको मेहलकुना, पञ्चपुरीको बाबियाचौर र सल्यानको सल्लिबजारमा आयोजित चुनावी सभाहरुलाई सम्बोधन गरेका छन्।