
सुर्खेत। कर्णाली प्रदेश सभाको वैठक असार २३ गते सम्मका लागि स्थगित भएको छ। बिहिवार सूचना जारी गर्दै कर्णाली प्रदेश सभा सचिवालयले वैठक स्थगित भएको जानकारी गराएको हो।
असार २३ गते दिउँसो १ बजे वैठक बस्नेगरी स्थगित भएको सचिवालयले जनाएको छ।
आर्थिक बर्ष ०७९÷८० को बजेटबारे छलफल भईरहेको यो अधिवेशनअन्तर्गत पछिल्ला वैठकहरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ। आइतबार एमालेले आफूसँग भएका सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै वैठक अवरुद्ध गरेको थियो। त्यसयता बेलाबेलामा सर्वदलीय छलफल भएपनि वैठक सुचारु गर्न दिने निश्कर्ष निक्लिएको छैन।
नेकपा एमालेले यो आर्थिक बर्षको बजेट ल्याउँदा भएको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै वैठक अवरुद्ध गर्दै आएको हो। यो आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि माघ १८ गते सर्वदलीय वैठक बसेर ७ बुँदे सहमति गरिएको थियो।
उक्त सहमति कार्यान्वयनमा सरकार अघि बढेमात्र वैठक चल्न दिने नेकपा एमलेको कर्णाली प्रदेश सभा दलले बताएको छ।