बुधबार, पुस ९, २०८२

अर्थमन्त्री शर्माले दिए राजीनामा, छानबिन नसकिएसम्म माओवादीले अर्को अर्थमन्त्री नबनाउने

  
कर्णाली टाइम्स बुधबार, असार २२, २०७९

सुर्खेत। अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन्। बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको छ।
शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु,’ संसदको रोष्टमबाट शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु।’
शर्माले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताएका थिए। राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘मैले कुनै गल्ती गरेको छैन, कमीकमजोरी गरेको छैन। यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ।’
शर्माले आजै संसदमा बोल्दै आधिकारिक व्यक्तिहरुबाट बजेट बनाइएको बताएका थिए। उनले सिसीटिभी फुटेज आफूले डिलिट नगरेको पनि बताएका थिए।
छानबिन नसकिएसम्म माओवादीले अर्को अर्थमन्त्री नबनाउने
नेकपा (माओवादी केन्द्र) ले जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने भएको छ। उनीमाथि छानबिन गर्न संसदले ११ सदस्यीय विशेष समिति बनाएको छ।
उक्त समितिले छानबिन नसकेसम्मका लागि माओवादीले अर्को व्यक्तिलाई अर्थमन्त्री नबनाउने भएको छ। संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए।
छानबिनमा शर्मा निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्री बन्ने पुनले बताए। यसअघि पनि अर्थमन्त्रीबारे छानबिन गर्न समिति बने पनि तत्कालीन अर्थमन्त्रीहरुले राजीनामा नदिएको प्रसंग उठाउँदै पुनले यसपालि प्रमुख प्रतिपक्षीले बढी नै विरोध गरेको बताए।