बुधबार, पुस ९, २०८२

सुर्खेतका २६ प्रतिशत उम्मेदवारले मात्र बुझाए चुनावको खर्च विवरण

  
कर्णाली टाइम्स आइतवार, असार २६, २०७९


सुर्खेत। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिएका सुर्खेतका २६ प्रतिशत उम्मेदवारले मात्र चुनावी खर्च बुझाएका छन्। स्थानीय तहको चुनावमा भाग लिएका नौ स्थानीय तहका २ हजार ८४ जना उम्मेदवारमध्ये २६ प्रतिशतले मात्र चुनावी खर्च बुझाएका हुन्।
दुई हजार ८४ मध्ये चुनावी खर्च बुझाउने ५५२ जना उम्मेदवार रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।
‘हामीले पटक–पटक निर्वाचन खर्च बुझाउन उम्मेदवारहरूलाई ताकेता गरेका थियौं तर पनि निर्धारित मितिसम्म मात्र २६ प्रतिशत उम्मेदवारहरुले चुनावी खर्च बुझाएका छन्,’ कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले भनिन्।
स्थानीय तह निर्वाचन ऐन, २०७३ र नियमावली २०७३ को ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान छ।
सूचना अधिकारी रेग्मीका अनुसार सुर्खेतमा हालसम्म चौकुने गाउँपालिकाबाट २०, चिङ्गाड गाउँपालिकाबाट ३३, सिम्ता गाउँपालिकाबाट ३६, बराहताल गाउँपालिकाबाट ९९ जना उम्मेदवारले चुनाव खर्च बुझाएका छन्।
त्यस्तै गुर्भाकोट नगरपालिकाबाट १२, भेरीगंगा नगरपालिकाबाट ५७, पञ्चपुरी नगरपालिकाबाट ६६, वीरेन्द्रनगर नगरपालिकाबाट ११२ र लेकबेँसी नगरपालिकाबाट ११६ उम्मेदवारले निर्वाचन खर्च प्रदेश निर्वाचन कार्यालयमा बुझाएका छन्।
जिल्ला समन्वय समिति सुर्खेतको एक जना उम्मेदवारले चुनाव खर्च बुझाएका छन्।