बुधबार, पुस ९, २०८२

लघु जलविद्युतको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु

  
कर्णाली टाइम्स शुक्रबार, असार ३१, २०७९


सुर्खेत। जुम्लाको हिमा गाउँपालिकामा रहेको एक लघु जलविद्युतको पावर हाउस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। पावर हाउसमा काम गर्ने चौकीदारका श्रीमति र दुई छोराको मृत्यु भएको हो।
हिमा गाउँपालिका–१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस गएराति २ बजेतिर भाँसिएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेमा त्यहाँ काम गर्ने चौकीदार गोरकबहादुर रावतका श्रीमति ३० वर्षीय विमला रावत दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत छन्। उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए।
गएराति चौकीदार गोरकबहादुर गाउँतिर गएका थिए। सोही बेला ठूलो पानी परेको र मुख्य कुलोमा घाँस दाउरा जम्मा भएर एक्कासी फोर्सले पानी आउँदा पावर हाउस भाँसिएको हो।
राती साढे २ बजेको घटना भए पनि स्थानीय गाउलेले ४ बजे मात्र थाहा पाएका थिए। शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ।