शुक्रबार, पुस ४, २०८२

नागरिकता विधेयकले नेपाली चेलीलाई अन्याय गरेको छः एमाले महासचिव पोखरेल

  
कर्णाली टाइम्स आइतवार, साउन ८, २०७९


सुर्खेत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको नागरिकता विधेयकले नेपाली चेलीलाई अन्याय गरेको टिप्पणी गरेका छन्। पार्टीको आन्तरिक कार्यक्रमका लागि सुर्खेत आएको पोखरेलले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले नागरिकता विधेयक हतारमा पारित गरेर नलायाकीपन देखाएको बताए।
उनले भने, ‘फास्ट ट्र्याकबाट नागरिकता विधेयक ल्याएर हाम्रा आफ्नै रक्तसम्बन्धबाट जन्मिएका चेलीहरुले अन्याय ब्यहोर्नुपर्ने प्रबन्ध अहिलेको पाँचदलीय गठबन्धनले गरेको छ, त्यो कुरा गलत हो।’
महासचिव पोखरेलले नागरिकता विधेयक नेकपा सरकारमा रहँदाकै वखत प्रस्तुत भएको र राज्य व्यवस्था समितिमा लामो समयसम्म छलफल भएर निकालिएको निश्कर्षलाई अहिलेको गठबन्धन सरकारले फिर्ता गरी नयाँ विधेयक ल्याउनुलेले एकप्रकारको असन्तुलन पैदा गरेको बताए।
नेपाली चेलीहरु भारतमा बिहे गर्दा उनीहरुले त्यहाँको नागरिकता पाउनको लागि सात बर्ष लाग्ने प्रावधान हुँदाहुँदै भारतीय चेलीहरु नेपालमा विहे गरी आउँदा तत्कालै नागरिकता प्राप्त गर्ने प्रबन्ध गर्नु दुई देशबीचको असमानता बढाउने खेल भएको टिप्पणी उनले गरे।
‘नेपाली चेलीहरुलाई नै अन्याय हुनेगरी संसदमा नागरिकता विधेयक ल्याउने कुरा नै राष्ट्रको सार्वभौमिकताको दृष्टिकोणले अनुचित छ।’ महासचिव पोखरेलले भने।