मंगलबार, असार १७, २०८२

एसईईको नतिजा आज आउँदै, ३५ अंक नल्याए अनुत्तिर्ण

  
कर्णाली टाइम्स बुधबार, साउन ११, २०७९

सुर्खेत। राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशन गर्दैछ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको हो।
बोर्ड अध्यक्ष महाश्रम शर्मा अनुसार आज बोर्डको बैठक बसेर एसइईको नतिजा प्रकाशन गर्ने तयारी भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख ८ गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरु अब पास हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनुपर्नेछ।
निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ। विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न पाउने छैनन्।
निर्देशिका अनुसार कक्षा ८, १० र १२ मा सबै विषयमा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन्। तर विषयगत रुपमा आन्तरिकतर्फ सी र सैदान्तिकतर्फ डी ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछैनन्।
मूल प्रमाणपत्र पाउन नसक्ने विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। दुईभन्दा बढी विषयमा तोकिएको ग्रेड पाउन नसकेका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि तोकिएको ग्रेड पाउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ।