
सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गाउँपालिकाको वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाई झुटो बिल बनाएर भुक्तानी गरेको आरोपमा प्याकुरेलसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्याकुरेलसँगै इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब–इन्जिनियर विनोद थापा र ठेकेदर गणेश भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
उनीहरुले झुटा बिल बनाएर २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको अख्तियारले दावी गरेको छ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐनअनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद र विगो बराबरको जरिवाना असुल गर्न माग गरिएको छ।
कर्णाली टाइम्स
आइतवार, साउन २२, २०७९
