
सुर्खेत। निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो। आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको हो।
निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले उक्त काम गर्न भदौ २५ गते लेखी पठाउनुपर्नेछ।
आयोगका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ।
असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ।
प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन्।
असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ।
आयोगका अनुसार मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइनेछ । मङ्सिर ४ गते बिहान ७ बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ।
यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ। त्यसमध्ये केही कार्यक्रम आवश्यकता अनुसार परिवर्तन हुन सक्नेछन्। निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै सुरु भएको छ। दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ।
समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ।
कर्णाली टाइम्स
मंगलबार, साउन २४, २०७९
