आइतवार, कार्तिक २३, २०८२

स्थानीय तहलाई थप जिम्मेवारीसहित बलियो बनाउनुपर्छः मुख्यमन्त्री शाही

  
कर्णाली टाइम्स बुधबार, साउन २५, २०७९


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघ र तथा प्रदेशका योजना, कार्यक्रमहरु कार्यान्वयनको जिम्मा दिएर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन्।
नेपाल नगरपालिका संघले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए।
‘स्थानीय तह जनताको नजिकको सरकार हो, नजिकको सरकारलाई अधिकार सम्पन्न नबनाइँदासम्म देशको विकास हुन सक्दैन,’ उनले भने, ‘देखिने र सुनिने संघ र प्रदेश सरकारबाट सञ्चालन हुने योजनाहरुको कार्यान्वयन गर्ने जिम्मा पनि अब जनताको नजिकको सरकारलाई दिईनुपर्छ।’
स्थानीय तह घरको जग भएकाले पहिलो बजेट स्थानीय तहले ल्याउनुपर्ने उनको भनाई थियो। स्थानीय तहबाट बजेट ल्याउन सुरु गर्दा आवश्यकता र औचित्यताका आधारमा काम हुने उनले बताए।
मुख्यमन्त्री शाहीले साउनबाटै बजेट कार्यान्वयन गर्ने बानीको विकास हुनुपर्ने बताए। जनसंख्यालाई आधार मानेर बजेट पठाइँदा कर्णालीलाई अन्याय भएको उनको भनाई छ। ‘२१.५ प्रतिशत भूगोल ओगटेको कर्णालीमा १७ लाख भन्दा कम जनसंख्या छ, यही जनसंख्यालाई आधार मानेर बजेट छुट्याइँदा कर्णालीलाई अन्याय भएको हो।’ उनले भने।
उनले थपे ‘विकास नहुनुका कारणमध्येको प्रमुख कारण बजेट समयमै कार्यान्वयन नहुनु हो, चालू आर्थिक वर्षको सुरुबाटै काम भइदिए गुणस्तरीय हुनुका साथै आर्थिक वर्षको अन्त्यमा हुने बोझ पनि कम हुन्थ्यो।’