सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका छन्। उनले आजै पदभार ग्रहण पनि गरिसकेका छन्।
मुख्यमन्त्री शाहीले डोल्पा (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य शाहीलाई बिहिबार मन्त्री नियुक्त गरेका थिए। यसअघि मन्त्री बनेका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को ६ महिने पदावधि सकिएपछि माओवादी प्रदेश सभा दलको सिफारिसमा शाहीलाई मन्त्री नियुक्त गरिएको थियो।
बिहिवार मन्त्री नियुक्त भएका शाहीलाई शुक्रबार नै शपथ खुवाउने तालिका भएपछि उच्च अदालत सुर्खेतको ध्यानाकर्षण पत्रले रोकिएको थियो।
उच्चले मन्त्रिपरिषद पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई अबलम्वन नगरिएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण गराएको थियो।
यसअघि २०७८ माघमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिँदा सामावेशी सिद्धान्तलाई ख्याल नगरिएको भन्दै अधिवक्ता शेरबहादुर खत्री समेतले उच्च अदालत सुर्खेतमा रिट हालेका थिए।
उक्त रिटका आधारमा शाहीलाई मन्त्री नियुक्त गरेलगत्तै उच्चले ध्यानाकर्षण गराएको थियो। अतालतको ध्यानाकर्षणलाई बेवास्ता गर्दै शाहीलाई नै मन्त्री बनाईएको छ।
कर्णाली टाइम्स
आइतवार, साउन २९, २०७९