सुर्खेत। बाल अधिकारका लागिा साझा अभियान कर्णाली प्रदेशले बालिकामाथि भएका बलात्कारका घटनाप्रति ध्यानाकर्षण जनाएको छ। विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएका समाचारका विषयलाई लिएर साझा अभियानले ध्यानाकर्षण जनाएको हो।
आइतबार सुर्खेत र जुम्लामा १२ र १३ बर्षीया बालिकामाथि बलात्कार भएको समाचार सञ्चारमाध्यममा आएपछि त्यसमा ध्यानाकर्षण जनाउँदै अभियानकर्मीले पीडितलाई न्याय र पीडकलाई सजायको माग गरेका छन्।
‘२०७९ साउन २९ गते विभिन्न मिडियामा १३ बर्षीया बालिकालाई धर्मछोरी बनाएर जुम्लामा पटकपटक बलात्कार गरेको घटना मिलाउन सात लाख रुपैयाँमा प्रहरी, मानव अधिकारकर्मी, निर्वाचित जनप्रतिनितधि, अधिवक्ता लगायतको संलग्नता देखिएको बाहिर आएको छ,’ साझा अभियानका कर्णाली प्रदेश अध्यक्ष टिकाराम आचार्यले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सुर्खेतको गुर्भाकोट नगरपालिकामा १२ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ भन्नेसमाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ।’
यी दुवै घटनाले बालअधिकारको उल्लंघनसँगै शक्ति र पैसाको चलखेलबाट पीडित पक्षलाई प्रलोभनमा पारि न्याय हरण गर्ने कार्य भएको बताईएको छ।
यी दुवै घटनाका दोषीहरु कानुनका दायरामा आउनेमा शंका देखिएकोले सुक्ष्म छानविन गरी दोषीलाई कारबाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराईएको छ।
कर्णाली टाइम्स
सोमवार, साउन ३०, २०७९