बिहीबार, फागुन १, २०८१

कोहलपुर–सुर्खेत सडकखण्डमा राति दुई पाङ्ग्रे सवारीसाधन चलाउन नपाइने

  
कर्णाली टाइम्स मंगलबार, साउन ३१, २०७९


सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ। सोमबार बसेको सुरक्षा समितिको वैठकले निर्णय गरी एक सूचना जारी गर्दै रत्न राजर्माग अन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल दुई पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाईएको हो।
आइतबार राति जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिका–५ का दुई जनाको मृत्यु भएपछि प्रशासनले यो नियम लगाएको हो।
यसै घटनालाई लिएर स्थानीयवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका थिए। पीडित परिवारले राज्यबाट पाउने उचित क्षतिपुर्ती पाउने र दीगो व्यवस्थापनका लागि आगामी दिनमा छलफपल गर्ने सहमतिपछि सोमबार अवरुद्ध पारिएको सडक स्थानीयले खुलाएका थिए।
आइतबार बिहान ८ बजे भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब ४०० मिटरमा पूर्वतर्फ पर्ने जंगलमा घाँस काट्न गएका थिए। उक्त क्षेत्र बर्दीया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो। त्यहाँ जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको अवस्थामा आइतबार बेलुका शव फेला परेका थिए।
जिल्ला सुरक्षा समितिको बैठकले जंगली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुई पाङ्गे सवारी साधनलाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा समेत चार पाङ्ग्रे सवारी साधनको अगाडि÷पछाडि चलाउन अनुमति दिने निर्णयसहित सुरक्षार्थ खटिएका सबै युनिटलाई सर्कुलर गरेको छ।