बुधबार, माघ ३०, २०८१

वन कार्यालयको हिरासतमा आरोपितको मृत्यु भएपछि आफन्तले दिए कर्मचारीविरुद्ध किटानी

किटानी परेका चार जनामध्ये तीन जना प्रहरीको नियन्त्रणमा, छानविन समिति गठन

  
कर्णाली टाइम्स शुक्रबार, भदौ ३, २०७९


सुर्खेत। डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा रुख काटेको आरोपमा पक्राउ परेका व्यक्तिको मृत्यु भएपछि आफन्तले कार्यालयका सहायक वन अधिकृतसहित चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
जिल्ला वन कार्यलय सुर्खेतमा किटानी दर्ता गराईएको मृतकका आफन्तले बताएका छन्।
वन सम्बन्धि मुद्दामा पक्राउ गरिएका व्यक्तिको कार्यालयका हिरासतमा मृत्यु भएको पाईएपछि आफन्त आन्दोलिन बनेका छन्। बिहिवार डिभिजन वन कार्यालय सुर्खेतमार्फत पक्राउ गरिएका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ बर्षीय धनीराम लामिछानेको वन कार्यालय पु¥याउने वित्तिकै मृत्यु भएको थियो।
आफन्तले पक्राउ गर्नेहरुबाट कुटपिट भएपछि लामिछानेको मृत्यु भएको आरोप लगाएका छन्।
बिहिवार वन कार्यालयमै पुगेर आन्दोलन गरेका आफन्तले शुक्रबार प्रहरीमा किटानी दिएका हुन्।
डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षाकहरु पिउसराज तिवार र सुरेन्द्र राना विरुद्ध किटानी जाहेरी परेको हो।
किटानी परेकामध्ये सहायक वन अधिकृत धितालबाहेक अरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सुरुमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको थियो।
कार्यालयको हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा भेटिएका थिए। आफन्तले भने पक्राउ गर्दा कुटपिटबाट मृत्यु भएपछि कर्मचारीले कोठामा झुण्ड्याएर राखेको आरोप लगाएका छन्।
यो घटनाका विषयमा छानविनका लागि समिति गठन गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग गरिएको छलफलपछि पाँच सदस्यीय छानविन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव प्रेमप्रसाद पाण्डेको संयोजकत्वमा समिति बनाईएको हो।
छानविन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका अधिकृत पदमलाल लामिछाने, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका अधिकृत गोपाल थापा, जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहत नगर प्रहरी कार्यालयका निरीक्षक कृष्ण डांगी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव खगेन्द्रकुमार खत्री सदस्य रहेका छन्।
उक्त समितिले घटनाको बारेमा छानविन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ।