मंगलबार, माघ २९, २०८१

दलहरुबीच सन्तुलन मिलाएर सिट बाँडफाँडको कुरा टुंगिन्छः प्रचण्ड

  
कर्णाली टाइम्स शुक्रबार, भदौ १७, २०७९


सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलहरुबीच सन्तुलन हुनेगरी सिट बाँडफाँडको विषय टुंग्याईने बताएका छन्। शुक्रबार पार्टीको प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्न सुर्खेत आएको प्रचण्डले पत्रकाहरुसँग कुरा गर्दै दलहरुबीच सिट संख्याको कुरा लगभग सहमतिमा पुगेको बताए।
‘अहिले गठबन्धनभित्रका दलबीच संघको सिट एउटाले लिएमा प्रदेशको अर्कोलाई दिएर भोट ट्रान्सफर हुने वातावरण बनाउँदैछौं, १६५ निर्वाच क्षेत्रका प्रदेशका सिटलाई सन्तुलन मिलाएर जाने हो।’ उनले भने।
उनले हालसम्म गठबन्धनभित्र कुनै पनि असहमति नभएको बताए। गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा दलहरुबीच छलफल भईरहेको बताए।
‘हामी गठबन्धनभित्रका दलहरुमध्ये एक्लै जित्ने प्रभाव भएका ठाउँहरुमा पनि गठबन्धनका पार्टीलाई समायोजन गरेर लिने कुरामा हाम्रो जोड छ, यसले मात्र परिणाम राम्रो ल्याउन सकिन्छ भन्ने टुंगोमा पुगेका छौं।’ प्रचण्डले भने।
उनले अहिले पनि स्थानीय तहजस्तै आ–आफ्नो चुनाव चिन्ह लिएर निर्वाचनमा गठबन्धनभित्रका दलहरु जाने र निर्वाचनको घोषणापत्र एउटै बनाउने तयारी भईरहेको बताए। आफू राष्ट्रपति बन्ने हल्ला निराधार भएको उनले बताए।
अहिले पनि आफू चितवनको क्षेत्र नम्बर ३ बाट लड्ने स्पष्ट पारेका छन्।
हाललाई एमालेसँग एकता हुने सम्भावना नरहेको पनि उनले बताए। ‘एमालेसँग तत्काल एकता हुने कुरा छैन, विगतका गतिविधिको आत्मसमिक्षा गरेर क्लियर नभएसम्म एमालेसँग एकताको कुरा आउँदैन।’ उनले भने।