![](http://karnalitimes.com/wp-content/uploads/2021/08/Karnali-academy.jpg)
सुर्खेत। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन्। जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि खारेज गर्नुपर्ने मागसहित चिकित्सकहरुले राजीनामा दिएका हुन्।
पक्राउ पुर्जीका विरुद्ध प्रतिष्ठानमा कार्यरत डाक्टर तथा अरु स्वास्थ्कर्मीहरुले मंगलबारदेखि नै ईमरजेन्सी बाहेकका अरु सेवा ठप्प पारेका छन्।
प्रतिष्ठानका अनुसार हाल त्यहाँ रहेका ५९ जना डाक्टरहरुले मंगलबार बेलुका सामूहिक रुपमा राजीनामा बुझाएका हुन्। प्रतिष्ठानमा ११० जना चिकित्सक कार्यरत छन्। चिकित्सकबाहेकका अरु कर्मचारी तथा स्वास्थ्यकर्मीले भने राजीनामा दिएका छैनन्।
डा. साहमाथि बाल हिंसा गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि प्रहरीले चलाएको प्रक्रियाअनुसार अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको थियो।
भदौ २ गते प्रतिष्ठानमा कार्यरत ओपिडी असिस्टेन्ट धनबहादुर शाहीले आफ्नो छोराको उपचार गर्न अस्वीकार गरेको भन्दै डा. साहमाथि कुटपिट गरेका थिए। कुटपिटपछि उनी प्रहरीको नियन्त्रणमा छन्।
कुटपिट गर्ने धनबहादुरकी श्रीमति आशा हमाल शाहीले डा. साहले छोराको उपचार नगरेको र बाल हिंसा गरेको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिईन्।
डाक्टरमाथि कुटपिट गर्ने शाहीलाई प्रतिष्ठानको जाँचबुझ समितिले ४५ दिनसम्मका लागि निलम्बन गरेको छ।