सुर्खेत। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। १ लाख १५ हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ। म्यादी प्रहरीको सेवासुविधा पनि तय गरिएको छ।
जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैयाँको दरले ४० दिन सम्मका लागि उनीहरुको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ।
यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन्।
तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ।
निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ।
अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाको भनाइ छ।
भदौ ३० गतेदेखि असोज ६ गतेसम्मसबै जिल्ला प्ररही कार्यालयमा आवेदन दिन पाईनेछ।
कर्णाली टाइम्स
आइतवार, भदौ २६, २०७९