सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर सहरभित्रको व्यस्त सडकलाई फराकिलो बनाइँदै छ। शहरको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको बीच बजारको सडकलाई फराकिलो बनाउन काम सुरु गरिएको हो।
गत आर्थिक बर्षमा नै सडक विस्तारको ठेक्का भएपनि साईड खाली नहुँदा काम अगाडि बढ्न सकेको थिएन। अहिले दशैंअघि नै साईड खाली गर्नेगरी वीरेन्द्रनगर नगरपालिका अगाडि बढेको छ।
बुधबारदेखि नगरपालिकाले विद्युत, ईन्टरनेट लगायतका सेवाप्रदायकसँग समन्वय गरी साईड खाली गर्न सुरु गरेको छ। ‘विद्युत र ईन्टरनेट सेवाप्रदायकलाई सँगसँगै लिएर साईड क्लियर गराउने काम सुरु गरेका छौं, केही अवैध रुपमा बनाईएको संरचनालाई पनि हटाउँदैछौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले भने, ‘साईड खाली भएपछि दशैंलगत्तै निर्माण कम्पनीले काम सुरु गर्नुहुन्छ।’
कतिपयका नक्सा पास नलिएर बनाईएका भ¥याङहरु परेकाले तिनलाई पनि भत्काउन थालिएको उनले बताए।
तिवारीका अनुसार पाँच–छ वटा घरहरु नक्सा पास गरेर नै बनाईएको जानकारी आएकोले त्यसको पहिचान गर्न थालिएको छ। ‘कतिपय घरहरु सडकमा पर्नेगरी नक्सा पास गराएर बनेका छन् भन्ने कुरा आएको छ, त्यसको सबै कागजात हेरेर कानुनमा हामी तल नपर्नेगरी काम गर्छौं।’ उनले भने।
मंगलगढी चोकदेखि काठको पुलसम्मको १ किलोमिटर भन्दा बढी सडक विस्तार गर्न लागिएको हो। सडक विस्तार गर्दा १५ मिटर कालोपत्रे गरिनेछ भने डेढ मिटर फुटपाथ बनाईनेछ। यस्तै ७५ सेन्टिमिटर नाला बनाईनेछ।
निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालयबीच चालु आर्थिक बर्षको चैतसम्म सडक विस्तारको काम गरिसक्नुपर्ने सम्झौता छ। निर्माण कम्पनीले साईड खाली गराएमा चैत अगावै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख मोहनमाया ढकालले बताईन्।
मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको उक्त क्षेत्रमा पछिल्लो समय सवारी चाप बढेसँगै अति व्यस्त हुने गरेको छ।