सुर्खेत। सरकारले दसैं, तिहार तथा छठ पर्व मनाउन घर फर्कने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ। यातायात व्यवस्था विभागमा भदौ २२ गतेको वैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दुरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको थियो।
संयुक्त बैठकबाट अग्रिम टिकट बुकिङ तथा काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, कोभिड–१९ लाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गरेको थियो।
अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णरुपमा निरुत्साहित गर्ने, दसैंका लागि आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय पनि गरिएको थियो।
यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय बैठकले गरेको थियो।
कर्णाली टाइम्स
शनिबार, असोज १, २०७९