सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका रहेको सुर्खेत क्षेत्र नं. २ (क) अहिले ‘हट क्षेत्र’ को रुपमा चर्चित छ । चुनावी प्रतिस्पर्धाको लागि एमालेबाट मुख्यमन्त्रीका संभावित उम्मेदवार यामलाल कँडेलको नाम सिफारिस भएकोले मात्र होइन, कांग्रेसभित्रको चर्को राजनीतिक प्रतिस्पर्धाले पनि यस क्षेत्रमा सबैको ध्यान खिचिएको हो ।
कांग्रेसबाट ९ जनाको नाम सिफारिस भएको छ । कालिप्रसाद शाक्य, कमलराज रेग्मी, गोविन्द कोइराला, देवकुमार सुवेदी, बालदीप कँडेल, नारायणप्रसाद सापकोटा, हरि विष्ट, कर्ण बुढा र तीर्थजंग शाहीको नाम सिफारिस भएको छ । नाम सिफारिस भएकामध्ये अधिकांश नेताहरु अहिले टिकटको लागि काठमाडौं पुगिसकेका छन् ।
तर ९ जनाबाहेक सिफारिसमै नपरेका अर्का एक नेताको चर्चा कांग्रेसको नेतृत्व तहमा हुने गरेको छ । ती हुन्– नारायण कोइराला । आखिर कोइरालाको चर्चा किन भयो त ? यसका प्रमुख ३ कारण छन् ।
क्षमताको लेखाजोखा
नारायण कोइराला सुर्खेत कांग्रेसमा बौद्धिक, सालिन र कुशल नेतृत्व क्षमता भएको नेताको रुपमा चिनिन्छन् । पार्टीको क्षेत्रीय सभापति भइसकेका उनी छोटो समय सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्ष भए । सीमित साधन, स्रोत भएको संस्थामा बसेर उनले देखिने गरी काम गरे, जसले उनलाई सफल नेतृत्वको रुपमा स्थापित ग¥यो । बुलबुले उद्यान्नको गुरुयोजना बनाउनेदेखि आन्तरिक संरचना निर्माण, चौघान पार्क निर्माण योजनालगायत नगर विकास समितिभित्र बल्झिएका जग्गासम्बन्धी विवादमा काम गरे । यसले उनी सुर्खेत उपत्यका नगर विकास समितिको सफल अध्यक्षको रुपमा स्थापित भए । त्यसैले छोटो समयमै सुर्खेती जनतामाझ ‘काम गर्न सक्ने’ युवा नेताको छबि बन्यो ।
जनताको सहानुभूति
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमै वीरेन्द्रनगरको मेयरमा कोइरालाको नाम चर्चामा थियो । उनी संभावित बलियो उम्मेदवारको रुपमा गनिएका थिए । अन्तिम समयमा टिकट दिने चर्चा भए पनि उनको हातमा टिकट भने परेन । यद्यपि उनीमाथि स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ । यति हुँदाहुँदै पनि कोइरालाप्रति टिकट नपाएकोमा पार्टीका कार्यकर्ता र मतदाताको सहानुभूति छ । त्यसैले सिफारिसमा नपरे पनि उनको नाममाथि भित्रभित्रै चर्चा चल्ने गरेको छ ।
समूहभित्रै बैकल्पिक
सुर्खेत २ (क) मा संस्थापन इतर समूहबाट कमलराज रेग्मीको नाममात्र सिफारिसमा परेको छ । अन्य ८ जना संस्थापन समूहका छन् । संस्थापन इतर समूहले सुर्खेतमा संघतर्फ क्षेत्र नं. २ र प्रदेशतर्फ २ को (क) दावी गरिरहेको छ । तर पार्टीमा अवसर नपाएका र यसअघि चुनाव नलडेकालाई टिकट दिनुपर्ने आवाज बलियो बन्दै गएको छ । यस्तो अवस्थामा एकपटक वीरेन्द्रनगरको मेयर भइसकेकोले देवकुमार सुवेदी र २०७४ को निर्वाचनमा टिकट पाएकोले रेग्मीको विकल्प खोजिन सक्छ । सुवेदीको विकल्पमा सिफारिसमा परेका ७ जना भए पनि संस्थापन इतर समूहमा रेग्मीको विकल्पमा सिफारिसमा परेकोभन्दा बाहिरबाट खोजी हुन सक्छ । त्यस्तो अवस्थामा संस्थापन इतर समूहबाट कोइरालाको चर्चा हुने गरेको छ ।