आइतवार, पुस ६, २०८२

छिन्चु-सहारे ‘फोर लेन’ सडकको कथा र भेरी उपत्यका ‘स्मार्ट सिटी’ को सपना

  
कर्णाली टाइम्स मंगलबार, असोज २५, २०७९
छिन्चु-सहारे फोर लेन सडकको काल्पनिक तस्बिर ।  स्रोत : गुगल

सुर्खेत । पूर्वी सुर्खेतको भेरी उपत्यकाको बीचबाट ‘फोर लेन’ सडक निर्माणको प्रक्रिया सुरु भएको छ । छिन्चु–जाजरकोट सडक अन्तर्गत सुर्खेतको छिन्चुदेखि सहारेको सिमघाटसम्म सडक विस्तार गर्नको लागि १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी ठेक्का प्रक्रिया सुरु भइसकेको छ ।

सभासदमा बहाल रहेकै अवस्थामा कांग्रेस नेता पूर्णबहादुर खड्काको पहलमा अर्थ मन्त्रालयले २०७४ कात्तिकमा बजेट व्यवस्था गरेको थियो । मन्त्रालयले २०७४ कात्तिक १५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बजेटको सीमाभित्र रही कार्य अघि बढाउन सहमति प्रदान गरेको थियो । (हेर्नुहोस् पत्र) त्यस लगत्तै २०७४ मंसिरमा भएको निर्वाचन परिणाम ‘फोर लेन’ सडकको लागि दुर्भाग्य सावित भयो । निर्वाचनमा खड्का पराजित भएसँगै उनको पालामा बजेट विनियोजन गरेर प्रक्रिया सुरु भइसकेको सडक अलपत्र पर्‍यो  । बहुवर्षीय योजना भए पनि सरकारले बजेट नै विनियोजन गरेन । सांसद नभएकोले नेता खड्कालाई प्रत्यक्ष रुपमा दवाव दिन कठिनाइ भयो । अथवा उनले दवाव दिए पनि सरकारले सुन्ने अवस्था रहेन ।

२०७४ कात्तिक १५ गते गते अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लेखेको पत्र ।

२०७८ असारमा नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय सरकार बनेपछि भने पूर्वी सुर्खेतको विकासको प्रमुख आधार मानिएको उक्त सडक निर्माण प्रक्रियाले पनि मूर्त रुप लियो । सांसद नभए पनि पार्टीको एक प्रमुख र शक्तिशाली नेता भएको कारण सरकारमा खड्काको प्रत्यक्ष पहुँच पुग्यो । उनले आफ्नो पहलमा सुरु भएको र त्यसपछि अलपत्र परेको सडक निर्माणलाई सम्पन्न गर्नको लागि गत पुस २१ गते उक्त क्षेत्रको सभासदको हैसियतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरे । (हेर्नुहोस् पत्र)

संविधानसभा सदस्यको हैसियतले नेता पूर्णबहादुर खड्काले २०७८ पुस २१ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सडक निर्माण सुरु गर्न लेखेको पत्र ।

त्यसको ४ दिनमै मन्त्रालयले निर्माण कार्य अघि बढाउन सडक विभागलाई पत्र लेख्यो । (हेर्नुहोस् पत्र) नेपाली कांग्रेस सुर्खेतका उपसभापति विष्णुबहादुर खड्काले बजेट छुट्याएको ५ वर्षसम्म पनि जहाँको तहिँ रहेको सडक निर्माण कार्यलाई अघि बढाउन निकै मिहिनेत गर्नुपरेको बताए । ‘उतिबेला दाई (नेता खड्का) ले बडो मिहिनेत गरेर ‘फोर लेन’ सडकको लागि बजेट छुट्याउनु भयो, तर २०७४ को चुनावपछि उहाँ सांसद नरहेपछि र सरकार पनि कांग्रेसको नभएपछि काम अघि बढ्न सकेन,’ उनले भने, ‘यस क्षेत्रबाट चुनाव जितेका माननीयले गर्नुपर्ने थियो, तर उहाँले नचाहेर हो वा नसकेर हो काम अघि बढ्नु टाढाको कुरा बजेटै कटौती भयो ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले २०७८ पुस २५ गते सडक विभागलाई काम अघि बढाउने लेखेको पत्र ।

यही कामको लागि महिनौंसम्म काठमाडौंमा बस्नु परेको उनले बताए । अन्ततः सडक विभागले गत भदौ १४ गते सडक निर्माणको लागि टेन्डर आह्वान ग¥यो । (हेर्नुहोस् सूचना) अब छिन्चुदेखि सहारेको सिमघाटसम्म सम्म सडक चौडा हुने भएको छ । जिल्ला उपसभापति खड्काका अनुसार जंगल क्षेत्रबाहेकका बस्ती भएको क्षेत्रमा सडक चार लेनको हुनेछ ।

२०७९ भदौ १४ गते फोर लेन सडक निर्माणको लागि सडक विभागले निकालेको टेन्डरको सूचना

यो सडकलाई पूर्वी सुर्खेतको भेरी किनारमा निर्माण हुन लागेको स्मार्ट सिटीको मेरुदण्डको रुपमा हेरिएको छ । सुर्खेत-१ बाट २०७० मा चौथोपटक सांसद (सभासद) निर्वाचित भएपछि खड्काले २० वर्षीय दीर्घकालीन योजनाका साथ आधुनिक सहर निर्माण गर्ने घोषणा गरेका थिए । खड्काले आफ्नो योजना पूरा गर्न सभासद भएकै बेला सरकारको नीति तथा कार्यक्रममा पारेर काम सुरु गराएका थिए । सरकारले आर्थिक वर्ष २०७१/७२ मा विश्व बैंकको सहयोगमा भेरी उपत्यकाका साथै नेपालमा चारवटा स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । अहिले भेरी उपत्यकामा स्मार्ट सिटी निर्माणको लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयले कार्यालय स्थापना गरी काम सुरु गरिसकेको छ ।

स्मार्ट सिटी निर्माणको लागि ‘कृषि, पर्यटन र व्यापारको विस्तार : भेरीगंगा आधुनिक नमूना सहर निर्माणको आधार’ दीर्घकालीन सोच तयार पारिएको छ । सहरी विकास तथा भवन डिभिजन विभागले भेरीगंगा उपत्यकामा सहरीकरणका साथै कृषि, व्यापार, पर्यटन, उद्योग, कारखानाको संभावना औंल्याएको छ । प्रस्तावित स्मार्ट सिटीलाई ‘ग्रीन सिटी’ का रुपमा विकास गर्ने विभागको योजना रहेको छ ।

निर्माण प्रक्रिया सुरु भएको फोर लेन सडक जोड्ने मेहलकुनाको भेरी नदीमा रहेको पक्की पुल ।

भेरीनदी किनारको सुन्दर उपत्यकामा फोर लेनको सडक निर्माण भएपछि यसले स्मार्ट सिटी निर्माणको प्रक्रियालाई थप बल पुर्याउनेछ । स्मार्ट सिटीलाई मूर्त रुप दिनकै लागि भेडावारीदेखि रामघाटसम्म करिब १५ किलोमिटर दुरीमा पाँचवटा पक्की पुल रहने भएका छन् । तीमध्ये भेडावारी र मेहलकुनाको पुल सञ्चालनमा आइसकेका छन् भने रामघाट, चिप्ले र जहरेमा पुल निर्माणको काम भइरहेको छ । सडक विभागका अनुसार नेपालका कुनै पनि ठाउँमा यति नजिक दुरीमा पक्की पुल छैनन् । भेडावारी र मेहलकुना पुलबीचको दुरी त साढे एक किलोमिटर मात्र रहेको छ ।

५ वर्षसम्म अलपत्र परेर पुनः निर्माण कार्य सुरु भएको फोर लेन सडकसम्म ती पक्क पुलले भेरी किनारको उत्तर क्षेत्रलाई जोड्नेछन् । त्यसले पूर्वी सुर्खेतको सुन्दर भेरी उपत्यकालाई नेपालकै एक समृद्ध सहरको रुपमा स्थापित गर्नेछ ।