
सुर्खेत । आगामी संसदमा समानुपातिकतर्फ सुर्खेतबाट कम्तीमा ८ जना सांसद हुने निश्चितजस्तै देखिएको छ । प्रतिनिधिसभा र कर्णाली प्रदेशसभाको लागि प्रमुख दलहरुले बुझाएको सूची हेर्दा सांसद हुनेको परिदृश्य देखिएको हो । सबैभन्दा बढी कांग्रेसबाट ४ वा ५ जना प्रतिनिधिसभा र प्रदेशसभामा सांसद बन्ने संभावना रहेको छ । एमालेबाट २ जना, माओवादी केन्द्रबाट १ जना र राप्रपाबाट १ जना सांसद बन्ने संभावना छ ।
सुर्खेतबाट सबैभन्दा बढी कांग्रेसको तर्फबाट सांसद हुनेछन् । कर्णाली प्रदेशसभाको लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको १६ जनाको सूचीमा ४ जना कर्णालीका छन् । चारै जना आ–आफ्नो क्लस्टरबाट पहिलो नम्बरमा छन् । झकबहादुर डाँगी खर्सआर्य (पुरुष), जानकी सिंह खर्सआर्य (महिला), बलिमाया ओली आदिवासी जनजाति (महिला) र सन्जुसिंह विश्वकर्मा दलित (पुरुष) को पहिलो नम्बरमा रहेका छन् । आगामी प्रदेशसभामा कांग्रेसले समानुपातिकतर्फ ५ देखि ६ सिट पाउने अनुमान गरिएको छ । कांग्रेसले प्रदेशसभामा १२ प्रत्यक्षतर्फ १२ जना उम्मेदवार उठाएको छ । ती सबै पुरुष हुन् । प्रत्यक्षतर्फ सबै उम्मेदवार विजयी भएको खण्डमा भने डाँगी र विश्वकर्मा नपर्न सक्छन् । प्रदेशसभामा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने कूल सदस्यको ३३ प्रतिशत महिला हुनुपर्ने बाध्यताको कारण सबै महिला हुन सक्छन् । यस्तो अवस्थामा समानुपातिकबाट महिलाको संभावना बढ्छ ।
एमालेमा पनि ३ जनाको नाम समानुपातिक सूचीमा रहेको छ । तीमध्ये २ बालाराम शर्मा र नन्दा गुरुङ करिब निश्चित सांसद हुनेमा पर्छन् । शर्माको नाम खसआर्य (पुरुष) तर्फ १ नम्बरमा र गुरुङको नाम आदिवासी जनजाति (महिला) तर्फ १ नम्बरमा रहेको छ । कोकिलाकुमारी बिसीको नाम खसआर्य (महिला) तर्फ ३ नम्बरमा रहेको छ । एमालेले यसपटक समानुपातिकमा ५ सिट पाउने अनुमान गरिएको छ । प्रत्यक्षतर्फ सबै पुरुष उम्मेदवार उठाएको छ । सत्ता गठबन्धनको कारण २०७४ मा जस्तो सबै उम्मेदवार नजित्ने भएकोले शर्माको संभावना देखिएको हो ।
माओवादी केन्द्रले बुझाएको १६ जनाको सूचीमा सुर्खेतबाट देवीसरा सुनारमात्र परेकी छन् । उनको नाम दलित (महिला) तर्फ २ नम्बरमा रहेको छ । माओवादीले यसपटक समानुपातिकतर्फ ४ सिट पाउने अनुमान गरिएको छ । चारजैजना महिला पर्ने अवस्थामा मात्र सुनारको सांसद हुने संभावना रहन्छ ।
प्रदेशसभामा कम्तीमा एक सिट पाउने अनुमान गरिएको एकीकृत समाजवादीमा सुर्खेतबाट समानुपातिकर्फ सांसद हुने संभावना निकै न्यून रहेको छ । उक्त पार्टीले बसन्त विकको नाम दलित (पुरुष) तर्फ १ नम्बरमा र अनु आँकुराको नाम दलित (महिला) तर्फ २ नम्बरमा राखेको छ । प्रदेशसभामा अन्य दलबाट समावेशी सन्तुलन मिलेको सन्दर्भमा विक सांसद बन्ने झिनो संभावना देखिन्छ ।
राप्रपाबाट भने सन्तोषी शाही सांसद बन्ने संभावना छ । शाहीको नाम खसआर्य (महिला) तर्फ १ नम्बरमा रहेको छ । राप्रपाले कर्णालीमा १ सिट पाउने अनुमान गरिएको छ । यो अवस्थामा उनी सांसद हुन सक्छिन् । उक्त पार्टीबाट सूर्यबहादुर शाही खसआर्य (पुरुष) तर्फ २ नम्बरमा, झहरे सुनार दलित (पुरुष) तर्फ २ नम्बरमा र हरिकला तारामी आदिवासी जनजाति (महिला) तर्फ २ नम्बरमा रहेकी छन् ।
कांग्रेस र एमालेले समानुपातिकमा सिट बढाएको अवस्थामा भने थ्रेस होल्डको कारण एकीकृत समाजवादी वा राप्रपामध्ये एक दलको समानुपातिकतर्फ प्रतिनिधित्व नहुन पनि सक्छ ।
संघीय संसदमा को ?
प्रतिनिधिसभामा सुर्खेतबाट लोकबहादुर विश्वकर्माबाहेक अन्यको समानुपातिकतर्फ सांसद हुने संभावना निकै कम रहेको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको १ सय १० जनाको सूचीमा विश्वकर्माको नाम दलित (पुरुष) तर्फ २ नम्बरमा रहेको छ । सुर्खेतबाट उनीसहित शिवराज जोशी र उपेन्द्रबहादुर थापा (नागरिता अछाम) पनि सूचीमा परेका छन् । तर जोशीको नाम खसआर्य (पुरुष) तर्फ १४ नम्बर र थापाको १६ नम्बरमा रहेको छ । थापा पिछडिएको क्षेत्रतर्फ पनि सूचीकृत भएकाले जोशीको भन्दा उनको संभावना बढी हुन्छ । तर पिछडिएको क्षेत्रमा उनीभन्दा अगाडि हुम्लाका जयपति रोकाया, जुम्लाकी कान्तिका सेजुवाल तथा जाजरकोटकी मैना रावल रहेका छन् । रोकाया खसआर्य पुरुषतर्फ ८ नम्बर र पिछडिएको क्षेत्रमा पुरुषतर्फ १ नम्बर, सेजुवाल खसआर्य महिलातर्फ ८ नम्बर र पिछडिएको क्षेत्रमा महिलातर्फ १ नम्बर र रावल खसआर्य महिलातर्फ ९ नम्बर र पिछडिएको क्षेत्रमा महिलातर्फ २ नम्बरमा रहेकी छन् । त्यसैले थापा पिछडिएको क्षेत्रबाट सांसद हुने झिनो संभावना रहेको छ ।
एमालेबाट गेहेन्द्रप्रसाद दाहालको नाममात्र सूचीमा परेको छ । उनी खसआर्य (पुरुष) तर्फ ९ नम्बरमा रहेका छन् । यसपटक प्रत्यक्षतर्फ एमालेका उम्मेदवार कम विजयी भएमा समानुपातिकतर्फ पुरुषको प्रतिनिधित्व बढ्न सक्छ । यस्तो अवस्थामा दाहाल सांसद बन्ने संभावनाको घेराभित्र पर्छन् ।
माओवादी केन्द्रमा पनि हरिमाया शर्मामात्र बन्दसूचीमा परेकी छन् । उनको नाम खसआर्य (महिला) तर्फ ७ नम्बरमा रहेको छ । माओवादी केन्द्रले समानुपातिक सिटको संख्या हेर्दा शर्माको सांसद बन्ने संभावना करिब छैन । एकीकृत समाजवादीबाट पनि एकजना मात्र सीताकुमारी शर्मा परेकी छन् । उनको नाम खसआर्य (महिला) तर्फ १७ नम्बरमा रहेको छ । एकीकृत समाजवादीले थ्रेसहोल्ट कटाइहालेमा पनि शर्मा सांसद बन्न सक्दिनन् । राप्रपाले थ्रेस होल्ड कटाएको अवस्थामा भने सुर्खेतबाट मुकुन्दश्याम गिरी सांसद बन्ने झिनो संभावना रहन्छ । उनको नाम खसआर्य (पुरुष) तर्फ ३ नम्बरमा रहेको छ । राप्रपाबाट सुर्खेतका गिरीसहित कर्णकुमारी श्रेष्ठ आदिवासी जनजाति (महिला) तर्फ १२ नम्बरमा र सुनिता शाह खसआर्य (महिला) १० नम्बरमा रहेका छन् ।
नेताको सामथ्र्यले पहुँच बढायो
पार्टीको नेतृत्व तहमा जिल्लाका नेता पुग्दा समानुपातिक सूचीमा सुर्खेतबासीको पहुँच बढेको देखिएको छ । प्रतिनिधिसभामा कांग्रेसका ३ जना पुगेका छन्, ती पनि २ जनाले सांसद बन्ने संभावना बोकेका छन् । त्यस्तै प्रदेशसभामा ४ जना बन्दसूचीमा परेकामा चारैजना आ–आफ्नो क्लस्टरमा पहिलो नम्बरमा परेका छन् । सुर्खेती नेता कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको पार्टी नेतृत्वमा पहुँच भएकोले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट करिब ६ जनाले सांसद बन्ने संभावना बोकेका छन् ।
त्यस्तै एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज रहेका यामलाल कँडेलको कारण सुर्खेतबाट शर्मा र गुरुङ कर्णाली प्रदेशसभामा सांसद हुने गरी बन्द सूचीमा परेका छन् । प्रतिनिधिसभाको बन्दसूचीमा एकजना दाहालको नाम मात्र परे पनि उनी अपेक्षित रुपमा अन्य उम्मेदवारभन्दा अगाडि रहेका छन् । हालै एमाले प्रवेश गरेका दाहालको नाम खसआर्य क्लस्टरमै पार्टीका स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीको भन्दा अगाडि रहेको छ ।
