
सुर्खेत। समावेशी स्वास्थ्य पुनर्स्थापनाबारे कर्णाली प्रदेशस्तरीय वकालत वैठक सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश, युएसएआईडी तथा हेण्डीक्याप ईन्टरनेशनलको साझेदारीमा सञ्चालित पुनर्स्थापना परियोजनाअन्तर्गत बिहिबार वैठक गरिएको हो।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको समन्वयमा गरिएको उक्त वैठकमा स्वास्थ्य पुनर्स्थापनाका क्षेत्रमा मन्त्रालयको बजेट, सम्बन्धित सरोकारवाला निकायले पुनर्स्थापनाको क्षेत्रमा निर्वाह गरेका भूमिका लगायतका विषयमा छलफल गरिएको थियो।
वैठकमा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्माले सामावेशी स्वास्थ्य पुनर्स्थापनाको बढ्दो माग र समावेशी पुनर्स्थापनाअन्तर्गत प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गर्नुपर्ने कामका बारेमा प्रस्तुति राखेका थिए। यस्तै सामाजिक विकास मन्त्रालयका निमित्त सचिव विनोद आचार्यले मन्त्रालयले र्आर्थिक वर्ष ०७९/०८० मा अपाङ्गताको क्षेत्रमा विनियोजन गरेको बजेटका बारेमा प्रस्तुती राखेका थिए।
वैठकमा अपाङ्गता भएका व्यक्ति लक्षित समावेशी नीति बनाउनुपर्ने, कार्यक्रम र बजेट विनियोजन गर्दा अपाङ्गता भएका व्यक्ति तथा सम्बन्धित क्षेत्रमा काम गर्ने निकायसँग बृहत छलफल गरी उठेका सवाल सम्बोधन गर्नुपर्ने लगायतका विषयमा छलफल गरिएको थियो।
कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको लागि प्रादेशिक अपाङ्गता नीति प्रदेश सरकारले मस्यौदा तयार गरेको र अब मन्त्रालयले पास गर्ने निमित्त सचिव आचार्यले बताए।
छलफलका क्रममा समावेशी स्वास्थ्य पुनर्स्थापना सेवासम्बन्धि जनचेतनामुलक कार्यक्रम समुदाय स्तरमा गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायक सामाग्रीमा सहयो गर्न विनियोजित बजेट कार्यन्वयन गर्दा विशेष ध्यान पुर्याउनुपर्ने, साहायक सामाग्री वितरण निर्देशिकाअनुरुप सही नापजाँचसहित वितरण गर्नुपर्ने लगायतका माग गरिएको छ।
