सुर्खेत। नेपाल पत्रकार महासंघले पहिलो पटक सुर्खेतमा केन्द्रीय साधारणसभा गर्ने भएको छ। महासंघले यसअघि सुर्खेतमा पुस ७ र ८ गते साधारणसभा आयोजना गर्न गरेको निर्णयअनुसार सुर्खेत शाखाले विषयगत समिति तथा उपसमिति बनाउने निर्णय गरेको छ।
सोमबार महासंघको सुर्खेत शाखाको पाँचौं बैठकले उपसमिति गठन गर्नेगरी संयोजकहरु तोकेको छ। तोकिएका संयोजकहरुले आफू नेतृत्वको समितिमा सदस्यहरु थप्नेछन्।
सुर्खेतमा हुने महासंघको केन्द्रीय साधारण सभामा देश तथा विदेशबाट करिब ६ सय जना पत्रकारको सहभागिता हुने महासंघ सुर्खेत शाखाले जनाएको छ।
जिल्ला शाखाका ७ जना पदाधिकारी रहने गरी आवास व्यवस्थापन उपसमिति गठन गरिएको छ। उक्त समितिले साधारणसभामा आउनेहरुलाई आवासको व्यवस्थापन गर्न समन्वयको भूमिका निर्वाह गर्नेछ।
सुर्खेत शाखाका उपाध्यक्ष सुदीप परीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, उपाध्यक्ष सविता जिसीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, सचिव ललित बुढाको संयोजकत्वमा प्रचार उपसमिति गठन गरिएको छ।
सहसचिव ईश्वरराज अधिकारीको संयोजकत्वमा प्रकाशन उपसमिति, सहसचिव टेकेन्द्र विश्वकर्माको संयोजकत्वमा साँस्कृतिक उपसमिति, कोषध्यक्ष ललित गाहाको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ।
कर्णाली टाइम्स
सोमवार, मंसिर १२, २०७९