
सुर्खेत। प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा कर्णाली प्रदेशमा दलहरुबीचको गठबन्धन पूर्ण रुपमा सफल भएको निश्कर्ष निकालिएको छ। शुक्रबार बसेका प्रदेशस्तरीय संयन्त्रको बैठकले कर्णालीमा गठबन्धन पूर्ण रुपमा सफल भएको निश्कर्ष निकालेको हो।
संयन्त्रले आंशिक रुपमा केही उम्मेदवारले चुनाव हारेपनि समग्रमा गठबन्धन सफल भएको निश्कर्ष निकालेको हो। गएको स्थानीय निर्वाचनमा गठबन्धन असफल भएपनि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सफल नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताईन्। उनले न्यूनतम दुई तिहाई बहुमत आएको दावी गरिन्।
‘प्रदेशमा १८ सिट आएको छ, अब समानुपातिकसहितको नतिजा हेर्दा बहुमत आएको हो, अध्यक्ष केसीले भनिन्, ‘जुम्लामा गठबन्धनभित्रको आन्तरिक समस्याका कारण सफलता नमिलेपनि समग्रमा हामी सफल भएका हौं।’
अब गठबन्धनमार्फत नै कर्णालीको समृद्धिका लागि अघि बढ्न विज्ञहरुसहितको उपस्थितीमा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय संयन्त्रले गरेको छ।
कर्णालीमा सरकार बनाउने कुरामा भने केन्द्रसँग सल्लाह गर्नुपर्ने उनले बताईन्।
४० जना सदस्य रहेको प्रदेश सभामा समाजवादीको प्रत्यक्षतर्फ कुनै सिट आएको छैन। भागबण्डा गर्दा पाएका दुवै सिट समाजवादीले गुमाएको छ। समानुपातिकबाट भने नेकपा (एस) को एक सिट प्रदेश सभामा पाउने देखिएको छ।
कर्णाली प्रदेशमा गठबन्धन गर्दा पनि नेपाली काँग्रेसका ३, माओवादीका १ र समाजवादीका २ जना उम्मेदवार हारेका थिए।