सुर्खेत । बुद्ध एयरले ७२ सिटे ठूलो जहाजबाट उडान सुरु गर्ने भएपछि महँगो हवाई भाडाको कारण सास्ती भोग्दै आएका कर्णालीवासीले राहत पाउने भएका छन् । बुद्ध एयरले आगामी पुस १ गतेदेखि सुर्खेत–काठमाडौं ठूलो जहाजबाट उडान गर्ने भएको हो । अहिले बुद्ध एयरले ४२ सिटे जहाजबाट दैनिक एक उडान गर्दै आएको छ । बुद्ध एयरले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पुस १ देखि ठूलो जहाजबाट उडान सुरु गर्ने र आवश्यकताअनुसार दैनिक दुईवटासम्म उडान गर्ने जनाएको छ ।
ठूलो जहाजबाट उडान सुरु गर्न निजी क्षेत्रको नेतृत्वदायी संस्था सुर्खेत उद्योग वाणिज्य संघले लामो समयदेखि विभिन्न निकायमा दवाववमूलक पहल गर्दै आएको थियो । संघका अध्यक्ष लक्ष्मण कँडेलले आफूहरुको मागअनुसार बुद्ध एयरले ठूलो जहाज हाल्ने भएपछि खुसी व्यक्ति गरे । ‘अब सुर्खेतवासीले काठमाडौं आवतजावत गर्दा केही राहत पाउने भएका छन्, यसले हामीलाई खुसी तुल्याएको छ,’ उनले भने ।
नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासंघको आसन्न केन्द्रीय साधारणसभाको सम्मुख बुद्ध एयरले ठूलो जहाजबाट सेवा सुरु गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताए । ‘सुर्खेतमा साधारणसभा राख्दा जहाजबाट आउन चाहनेले भाडा महँगो भन्ने गर्नुभएको थियो, अब समस्या समाधान भएको छ,’ उनले भने । नेपाल पत्रकार महासङको केन्द्रीय साधारणसभा आगामी पुस ८ र ९ गते सुर्खेतमा हुँदैछ ।
यसअघि बुद्ध एयरले जनवरी १ (पुस १६) देखि ठूलो जहाजबाट सेवा सुरु गर्ने भनेको थियो । यही सन्दर्भमा महासंघको नेतृत्वले कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई साधारणसभाभन्दा अगाडि ठूलो जहाजबाट सेवा सुरु गर्नको लागि पहल गरिदिन आग्रह गरेको थियो । मुख्यमन्त्री शाहीले नागरिक उड्ययन प्राधिकरणका अधिकारी र बुद्ध एयर व्यवस्थापनसँग महासंघको चासोबारे कुरा राखेका थिए । सुर्खेत उद्योग वाणिज्य संघले समेत बुद्ध एयर र प्राधिकरणका अधिकारीलाई भेटेर परीक्षण उडान सफल भइसकेकोले नियमित उडानको लागि ढिलाइ नगर्न आग्रह गरेको थियो । ‘हामीले सम्बन्धित पक्षलाई भेटेर नियमित उडानमा ढिलाइ नगर्न आग्रह गरेका थियौं, ढिलै भए पनि सुर्खेतवासीले केही राहतको महसुस गर्नेछन्,’ उनले भने ।
स्मरण रहोस्, करिब एक वर्षअघि श्री एयरले पनि सुर्खेत–काठमाडौं ठूलो जहाजबाट हवाई सेवा सुरु गरे पनि बन्द गरेको थियो । बुद्ध एयरबाहेक अन्य हवाई कम्पनीले सेवा सुरु गरेमा भाडादर अझै घट्ने अपेक्षा कर्णालीवासीले लिएका छन् ।