सोमवार, जेष्ठ ६, २०८२

कर्णालीमा समानुपातिक सांसदको टुंगो लाग्यो, एमालेमा दुई थरि सूची

  
कर्णाली टाइम्स शुक्रबार, मंसिर २३, २०७९

सुर्खेत । निर्वाचन आयोगले कर्णाली प्रदेशसभाको समानुपातिकतर्फको १६ सिट बाँडफाँट गरेर नाम पठाउन राजनीतिक दलहरुलाई परिपत्र गरेको छ । समानुपातिकतर्फ जाने १६ सिटमध्ये कम्तीमा १५ जना महिलाको प्रतिनिधित्व हुनेछ ।

कर्णाली प्रदेशसभामा कांग्रेस र एमालेले ५–५, माओवादी केन्द्रले ४ र राप्रपा र एकीकृत समाजवादीले १–१ सिट पाएका छन् । समानुपातिकको नाम पठाउनेमा अन्य दलमा समस्या नभए पनि एमालेभित्र ठूलो सकस देखिएको छ । एमाले स्रोतका अनुसार अहिले पार्टीभित्र दुईथरि सूचीमा छलफल भइरहेको छ । एमालेले समानुपातिकतर्फ ५ सिट पाएको छ । त्यसमध्ये ३ खसआर्य, १ आदिवासी जनजाति र १ दलित रहेको छ । समानुपातिकबाट जाने ५ मध्ये ४ महिला हुनुपर्ने र २ जना पिछडिएको क्षेत्रको समेत समेट्नुपर्ने आयोगको परिपत्रमा उल्लेख छ ।

स्रोतका एमालेले पहिलो सूचीमा खसआर्यबाट कलबहादुर हमाल, दक्षिणा शाही, तुलसा मल्ल, आदिवासी जनजातिबाट नन्दा गुरुङ र दलितबाट गमता विक रहेका छन् । त्यसो हुँदा हमाल र बिकले पिछडिएको क्षेत्रको समेत प्रतिनिधित्व गर्ने छन् । एमालेमा यसबाहेक अर्को सूचीमाथि छलफल भइरहेको छ । दोस्रो सूचीमा खसआर्यबाट दक्षिणा शाही, तुलसा मल्ल र कोकिलाकुमारी बिसी, आदिवासी जनजातिबाट कृष्णबहादुर थापा र दलितबाट गमता बिकको नाम रहेको छ । यो सूचीबाट जाँदा थापा र बिकले पिछडिएको क्षेत्रको समेत प्रतिनिधित्व गर्नेछन् ।

खसआर्यको १ नम्बरमा नाम भए पनि बालाराम शर्मा सांसद नहुने करिब निश्चित भएको छ । आयोगले दुईजना पिछडिएको क्षेत्रबाट अनिवार्य राख्नुपर्ने निर्देशन गरेको कारण शर्माको संभावना सकिएको हो । एमालेले पहिलो सूची बुझाउँदा कृष्णबहादुर र कोकिलाकुमारी तथा दोस्रो सूची बुझाउँदा कलबहादुर र नन्दा सांसदबाट बन्चित हुनेछन् । कर्णालीमा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल मुख्यमन्त्रीका उम्मेदवार भएकोले उनले आफ्नो लागि अनुकूल सूची बुझाउने एमाले स्रोतको भनाइ रहेको छ ।

कांग्रेस, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीमा भने सूचीमा कुनै समस्या छैन । कांग्रेसले समानुपातिकमा ५ सिट पाएको छ । तीमध्ये खसआर्य ३, आदिवासी जनजाति १ र दलित १ गरी पाँचैजना महिला पठाउनुपर्नेछ । कांग्रेसले पनि यो सूचीमा २ जना पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्नुपर्नेछ । कांग्रेसबाट खसआर्यबाट जानकी सिंह, विजय बुढा र इन्द्राकुमारी शाही, आदिवासी जनजातिबाट बलिमाया बुढा र दलितबाट लक्ष्मी सुनार सांसद हुनेछन् । यीमध्ये शाही र बिकले पिछडिएको क्षेत्रको समेत प्रतिनिधित्व गर्नेछन् ।

माओवादी केन्द्रले पाएका ४ वटै सिटमा महिला पठाउनु पर्नेछ । तीमध्ये २ जना खसआर्य, १ जना आदिवासी जनजाति र १ जना महिला हुनुपर्नेछ । माओवादी केन्द्रले खसआर्यबाट यशोदा न्यौपाने र मिलन खड्का रोका, आदिवासी जनजातिबाट जुम्कित लामा कार्की र दलितबाट उर्मिला बिकको नाम पठाउनेछ । माओवादीबाट कार्कीले पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्नेछिन् ।

एकीकृत समाजवादी र राप्रपाले १-१ सिट पाएका छन् । दुईटै पार्टीले खसआर्य समुदायबाट महिला पठाउनु पर्ने आयोगको निर्देशनमा उल्लेख छ । त्यसैले राप्रपाबाट सन्तोषी शाही र समाजवादीबाट कल्याणी खड्का सांसद हुने छन् ।