बिहीबार, जेष्ठ ९, २०८२

कर्णाली नदीमा जेसिबी खस्दा दुई जनाको मृत्यु

  
कर्णाली टाइम्स शनिबार, मंसिर २४, २०७९


सुर्खेत। कर्णाली करिडोरमा जेसिबी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कर्णाली करिडोरको कालीकोट खण्डबाट कर्णाली प्रदेश २७७२ नम्बरको जेसिबी कर्णाली नदीमा खसेको हो। दुर्घटनामा तीन जना बेपत्ता भएका छन् भने तीन जना घाईते भएको छ।
शनिबार दिउँसो साढे १ बजे कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोला नजिकबाट जेसिबी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र वडा नम्बर २ का १६ वर्षीया युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै जेसिबी चालक कैलालीका अन्दाजी २३ बर्षीय कमल सोडारी, सान्नीत्रिवेणी गाउँपालिका–१ कालीकोटका १९ वर्षीया उमेश गिरी, सोही ठाउँका १४ वर्षीया रक्तिम कार्की बेपत्ता रहेको प्रहरीले जनाएको छ।
बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुक्रराज बमले जानकारी दिए।
कालीकोटका रास्कोट नगरपालिका–७ का १४ वर्षीया मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीया विकास भारती र १४ वर्षीया आशिष भारती घाईते भएका छन्। घाईतेलाई उपचारका लागि कालीकोट जिल्ला अस्पताल मान्म लगिएको छ।
प्रहरीका अनुसार सन्नीत्रिवेणी–१ अँधेरीखोलामा निर्माणाधी ४८० मेगावाट क्षमको फुकोट कर्णाली हाईड्रोपावरको सुरुङ भित्रको पानी जाँच गरेर फर्किने क्रममा उक्त जेसिबी सडकदेखि करिब ८० मिटर तल नदीमा खसेको हो।