बिहीबार, बैशाख २०, २०८१

कर्णाली उत्सव आजदेखि सुरु हुँदै

  
कर्णाली टाइम्स शुक्रबार, फागुन ५, २०७९


सुर्खेत। आजदेखि सुर्खेतमा कर्णाली उत्सव सुरु हुन लागेको छ। २०७६ बाट चल्दै आएको कर्णाली उत्सवको यो चौथो संस्करण हो। उत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था ऋति फाउण्डेसनले जनाएको छ।
उत्सव वीरेन्द्रनगरमा रहेको बुलबुले उद्यानभित्र हुनेछ। आज बिहान १० बजेदेखि सुरु हुने उत्सवको उद्घाटन समारोह भने ११ बने हुनेछ। मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
उद्घाटन सत्रमा कर्णाली उत्सवको चौथो संस्करणसम्मको यात्रा, वीरेन्द्रनगरमा स्वागत, हामी कसरी जोडियौं, कर्णाली उत्सवदेखि लाम्रा संवादसम्म लगायतका उत्सवसँग सम्बन्धित विषयमा यसमा जोडिएका व्यक्तिहरुबाट प्रस्तुति रहने आयोजकले जनाएका छन्। जुम्लाको तातोपाली गाउँपालिकाका स्थानीयहरुको पञ्चेबाजा पनि प्रस्तुत गरिनेछ।
उत्सवको पहिलो दिन सोमबार ६ वटा बहसमुलक सत्र सञ्चालन हुनेछन्। जसमा कर्णाली चिन्तन, कर्णाली खेल्दोछ, यो सहरः त्यो सहर, भोट–भेट, शिक्षा र समर्पण रहेका छन्।
उत्सवको दोस्रो दिन शनिबार दलित दलिल, भोक र भोजन, रेडियोको रस, संघीयताको पाँच बर्षः कति विस्मात, कति हर्ष, कर्णाली नदी प्रणाली र कर्णालीमा लगानी सत्र सञ्चालन हुनेछन्।
यस्तै उत्सवको तेस्रो अर्थात् अन्तिम दिन रुपान्तरणः पुस्तान्तरण, सग्लो समाज, सङ्लो राजनीति, समावेशी शासन, डिजिटल डेमोक्रेसी, कर्णालीदेखि काठमाडौंसम्म सत्र सञ्चालन हुनेछन्।
उत्सवको चौथो संस्कराणको पहिलो र दोस्रो दिन दुईटा विद्वत प्रवचन पनि रहने आयोजक संस्थाले जनाएको छ। पहिलो दिन निर्वाचन र लोकतन्त्र विषयमा प्रवचन रहनेछ भने दोस्रो दिन विकास र सुशासन विषयमा रहनेछ।
उत्सवको तीन दिनसम्म अन्तिममा कर्णाली कन्सर्ट सञ्चालन गरिनेछ। जसअन्तर्गत पहिलो दिन सांगीतिक साँझ, दोस्रो दिन कविता साँझ र तेस्रो दिन गजल सन्ध्या चल्नेछन्।
कर्णाली उत्सव सञ्चालनयता ५० भन्दा बढी सवालमा छलफल गरिएको आयोजक ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले बताए। उत्सवमा देशभरबाट ५० जनाभन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरु अतिथि वक्ताको रुपमा सहभागी हुने उनले जानकारी दिए।