
सुर्खेत। मंगलबारदेखि सुर्खेतमा दलितका लागि दलित अभियान सुरु हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अभियानको सुरुआत गर्न लागिएको हो। हरेक अंग्रेजी बर्षको २१ मार्चमा मनाइने छुवाछुत तथा विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अभियानको सुरुआत गर्न लागिएको अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले बताए।
बर्षौंदेखि हेपिदै आएका दलित समुदायलाई राज्यले समानुपातिक रुपमा प्रतिनिधित्व गराउनुपर्ने मागसहित अभियानको सुरुआत गर्न लागिएको उनले बताए। अभियानको सुरुमा देशभरका २५ हजार दलितहरुको सहभागितामा वृहत प्रदर्शन गरिने संयोजक सुनारले जानकारी दिए।
‘अब सुरु गरिने यो अभियान दलित समूदायको उत्थानका लागि कोशेढुंगा सावित हुनेछ, कर्णालीमा दलित भएकै कारण ज्यानको आहुती दिने सबैलाई राज्यले शहिद घोषणा गर्नुपर्ने लगायतका राज्यले पूरा गर्नुपर्ने दलित समुदायका ८४ वटा मागहरु राखिनेछ।’ उनले भने।
धार्मिक, सांस्कृतिक, आर्थिक लगायतका सबैखाले विभेदबाट मुक्तिका लागि यो अभियान सुरु गरिएको उनले बताए।
दलित समुदायको उन्मुक्तिका लागि सुरु गरिने अभियान देशको व्यवस्था परिवर्तनमा भने नजोडिने संयोजक सुनारले बताए। उनका अनुसार मंगलबारको प्रदर्शनका क्रममा जातीय विभेदकै कारण ज्यान गुमाएका, अन्यायमा परेका तथा उनीहरुका आफन्तहरु पनि सहभागी हुनेछन्।
यस्तै दलित समुदायका राष्ट्रिय कलाकारहरुको समेत उपस्थिति रहने उनले बताए। कार्यक्रम बिहान १० बजे वीरेन्द्रनगरको खुलामञ्चमा हुनेछ।
कर्णाली टाइम्स
सोमवार, चैत्र ६, २०७९
