
सुर्खेत। दैलेखमा एलपी ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार बिहान पौने ९ बजे भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
बाँकेका अन्दाजी ३१ बर्षीय चालक कृष्ण चौधरी, कामदारहरु विष्णु चौधरी र लक्षिराम चौधरीको घटना स्थलमै मृत्यु भएको हो।
सहचालक प्रकाश कुमाइँ भने सकुशल छन्। ट्रक रोकेपछि उनी ओट हाल्न कुमाइँ निस्किएका थिए। उनले ओट हाल्न नपाउँदै ट्रक तल खसेको हो।
प्रहरीका अनुसार नेपालगञ्जबाट दैलेखका लागि सिलिण्डर बोकेर उक्त ट्रक आएको थियो। गुराँस गाउँपालिका–४ तालपोखरी नजिकको घुम्तीबाट ट्रक खसेको हो। ट्रक माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा खसेको छ।
सडकमै ट्रक खसेकाले ठूला सवारी साधनका लागि बाटो अवरुद्ध भएको छ। साना सवारी साधन मात्र पास भईरहेको प्रहरीले जनाएको छ।
कर्णाली टाइम्स
बुधबार, चैत्र ८, २०७९
