मंगलबार, जेष्ठ ७, २०८२

अहिलेको गठबन्धनबाट देशमा स्थिर सरकार बन्दैनः विष्णु पौडेल

  
कर्णाली टाइम्स आइतवार, चैत्र १२, २०७९


सुर्खेत। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धनले देशलाई स्थिरतामा लैजाने सम्भावना नरहेको बताएका छन्। आईतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष विष्णु पौडेलले अहिले गठबन्धनभित्र सरकार र पदमा पुग्ने मात्र होडबाजी चलेकाले देशले स्थिरता नपाउने टिप्पणी गरे।
‘देशमा गठबन्धन दलहरु सरकारको नेतृत्व गर्ने र पदमा पुग्ने कुरामा मात्र केन्द्रित देखिएको छ, यसले गर्दा देशलाई स्थिरितातिर अहिलेको गठबन्धनले लैजाने सम्भावना छैन।’ पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत लिए पनि मन्त्रिपरिषद बिस्तार गर्न नसकेको टिप्पणी गरे। गत चैत ६ मा प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए।
‘प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत त पाउनुभयो तर आजसम्म मन्त्रिपरिषद बिस्तार गर्न सक्नुभएको छैन,’ उनले भने, ‘हामी सुन्दैछौं– ठूलो संख्यामा उपप्रधानमन्त्री दाबी भइरहेको छ, यति सिट, उति सिटका दाबी भनेर आइरहेका छन्।’
उनले सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेको पनि बताए।
‘सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री चर्को समस्यामा पर्नुभएको छ,’ पौडेलले भने, ‘सरकारलाई आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा ध्यान छैन, पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ। जनता र हामी यो गठबन्धनको तमासा हेरिरहेका छौं।’
निश्चित शर्तभित्र रही गत पुस १० गते एमालेसँग गरिएको गठबन्धनलाई धोका दिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुरानो चुनावी गठबन्धनमा फर्किएको उनले बताए।
अहिलेको गठबन्धन देशभित्रका राजनीतिक दलले मात्र नभई विदेशीको अवान्छित हस्तक्षेपका बीच बनेको आरोपसमेत पौडेलले लगाए।