सुर्खेत। प्रारम्भिक बालविकासका लागि कर्णाली प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समूह (ईसिडी ककस) पुनर्गठन गरिएको छ। बिहिवार ककसको पुनर्गठन गरिएको हो।
प्रारम्भिक बालविकास उमेर समूहका बालवालिकाको शिक्षाको लागि नीतिगत पैरवी गर्ने उद्देश्यका साथ गठन गरिएको सांसदहरुको सहार्य समन्वय समूह यसअघि ११ सदस्यीय थियो। पुनर्गठन गरिएको समूह भने १३ सदस्यीय बनेको छ।
नयाँ समूहमा सांसदहरु राजीवबिक्रम शाह, तुलसा मल्ल, मिलन खड्का, जुमकित मल्ल, सन्तोषी शाही, गोमता विक, बलिमाया बुढा, दक्षिणा शाही, ईन्द्रा शाही, देवेन्द्र शाही, कल्याणी खड्का, बिरबहादुर शाही र सुरेश अधिकारी छन्।
नयाँ समन्वय समूहले पहिलो बैठकबाट पदाधिकारी तोक्नेछ। पदाधिकारीमा एक जना संयोजक, दुई जना सह–संयोजक र एक जना सचिव रहने व्यवस्था छ।
समूहमा कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता गराईएको छ। यस्तै जिल्लागत रुपमा जाजरकोट, रुकुम पश्चिम, हुम्ला, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, डोल्पा र सल्यानबाट सांसदहरुको प्रतिनिधित्व समूहमा गराईएको छ।
बाँकी रहेको मुगु जिल्लाबाट आमन्त्रित सदस्यका रुपमा सहभागी गराईने ईसीडी ककसका पूर्व संयोजक सीता नेपालीले बताईन्। आवश्यकताका आधारमा समूहका पूर्व सदस्यहरुलाई पनि आमन्त्रित सदस्यका रुपमा ल्याईने उनले बताईन्।
प्रारम्भिक बालविकासका लागि गठन गरिएको कर्णाली प्रदेशको सांसदहरुको उक्त समूहलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले समन्वय गर्ने गरेको छ। समूहको सचिवालयका रुपमा भने सेतो गुराँस नामक गैरसरकारी संस्थाले काम गर्दै आएको छ। सांसदहरु जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने भएकाले प्रारम्भिक बालविकासका लागि पनि योग्दान पुगोस् भनेर यो समूह गठन गरिएको नेपालीले बताईन्।
कर्णाली टाइम्स
बिहीबार, चैत्र २३, २०७९