कर्णाली टाइम्स
सोमवार, जेष्ठ २९, २०८०

सुर्खेत । जेठ १६ गते कार दुर्घटनामा निधन भएकी डा. सन्जु खाती (खड्का) का श्रीमान् डा. डम्बर खड्काले भावुक स्टाटस सामाजिक सन्जालमा पोष्ट गरेका छन् । सोमबार बिहान ‘सम्झनामा सन्जु’ शीर्षकमा स्टाटस लेख्दै उनले सन्जु आफ्नो जीवनसाथीमात्र नभई जीवनको मार्गदर्शक भएको उल्लेख गरेका छन् । ‘जीवनसाथीको रुपमा डा. सन्जुसँगको यात्रा निकै छोटो रह्यो, तर करिब २३ वर्षको यो सामिप्यताले मेरो जीवनभरको लागि लामो स्मृतिरेखा कोरेको छ,’ उनले स्टाटसमा लेखेका छन् ।
डा. खड्का कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक हुन् । पूरै परिवार शोकमग्न हुँदासमेत उनले मन बलियो बनाएर अरुलाई सम्हाल्ने प्रयास गरेका थिए । खड्का दम्पत्तिका २२ र १२ वर्षका दुई छोरा छन् । जेठो छोरा मिर खड्का अमेरिकामा उच्च शिक्षा अध्ययनरत छन् भने कान्छो छोरा जितासन खड्का भारतमा विद्यालय शिक्षा आर्जन गरिरहेका छन् । डा. खड्काको स्टाटसलाई मिरले समेत सेयर गरेका छन् ।
डा. खड्काले सन्जुले छोटो सममयमा सुर्खेतको सामाजिक क्षेत्रमा अटुट छाप छोडेको उल्लेख गर्दै उनको समाजसेवाको प्यास आफूहरुले मेटाउन प्रयास गर्ने बताएका छन् । ‘एक चिकित्सक भएर पनि समाजसेवा रोज्नुभयो, तर उहाँको समाजसेवाको तिर्खा मेटिएन,’ उनले स्टाटसमा लेखेका छन्, ‘अब हामी डा. सन्जुको समाजसेवाको प्यास मेटाउन प्रयास गर्नेछौं ।’
डा. खड्काले जेठ १६ लाई ‘कालो दिन’ को संज्ञा दिँदै उक्त दिनले डा. सन्जुको सपना खोसिएको बताएका छन् । ‘सोचे झैं जिन्दगी रैनछ– अहिले साँच्चिकै यो गीत मेरो र हाम्रो परिवारमाथि चरितार्थ भएको छ,’ उनले लेखेका छन्, ‘र, सन्जुको सुन्दर सपना पनि खोसिएको छ ।’ डा. खड्काले शोकका घडीमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । खड्का परिवारलाई समवेदन दिन प्रधानमन्त्र पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनमपी साउदलगायत सुर्खेत गएका थिए । उनले कार दुर्घटनामा मृत्यु भएका चालक सुवास अधिकारी परिवारको पीडामा पनि मल्हम बन्ने बताएका छन् ।
डा. डम्बर खड्काले लेखेको स्टाटस
सम्झनामा सन्जु 

——————–
जेठ १६ हाम्रो परिवारको लागि `कालो दिन´ । निकै भयानक र अकल्पनीय दुर्घटनाले डा. सन्जुलाई हामीबाट सदाको लागि टाढा बनायो । `सोचे झैं जिन्दगी रैनछ´ अहिले साच्चिकै यो गीत मेरो र हाम्रो परिवारमाथि चरितार्थ भएको छ । र, सन्जुको सुन्दर सपना खोसिएको छ ।
जीवनसाथीको रूपमा डा. सन्जुसँगको यात्रा निकै छोटो रह्यो । तर करिब २३ वर्षको यो सामिप्यताले मेरो जीवनभरको लागि लामो स्मृतिरेखा कोरेको छ । डा. सन्जु एक असल जीवनसाथीमात्र होइन, मेरो जीवनको मार्गदर्शकको रूपमा रहनुभयो । अनि हाम्रो सिंगो परिवारको `अभिभावक´ पनि ।
डा. सन्जुले छोटो समयमै सुर्खेती समाजमा अटुट छाप छोड्नुभयो । एक चिकित्सक भएर पनि समाजसेवा रोज्नुभयो । तर उहाँको समाजसेवाको `तिर्खा´ मेटिएन । अब हामी डा. सन्जुको समाजसेवाको प्यास मेटाउन प्रयास गर्नेछौं ।
———
हाम्रो पीडामा सिंगो सुर्खेत रोयो । अनि पूरै देशले शोक व्यक्त गर्यो । यही साथले हामीलाई शक्ति प्रदान गर्यो । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू, पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू, माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू, माननीय परराष्ट्रमन्त्री एनपी साउदज्यू, नेपाली काङ्ग्रेसका महामन्त्री एवं माननीय गगन थापाज्यू, नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं माननीय रमेश लेखकज्यू, कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री राजकुमार शर्मासहित प्रदेशका मन्त्री तथा माननीय ज्यूहरू, विभिन्न राजनीतिक दलका नेताज्यूहरू, संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिज्यूहरू, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिज्यूहरूले प्रत्यक्ष भेटेर समवेदना दिनुभयो । यहाँ नाम उल्लेख गर्न छुट्नु भएका हजारौं-हजार आफन्त र शुभचिन्तकहरू, तपाईंहरू प्रत्येकको अनुहार मेरो हृदयमा गडेको छ । दु:खको यस घडीमा तपाईंहरूको साथले हामीलाई शोक सहने सामर्थ्य प्राप्त भएको छ । म र मेरो परिवारको तर्फबाट कोटि-कोटि नमन गर्दछु ।
पीडाको अझै गहिराईमा पुग्दा, जीवनसाथी र एक आमा गुमाएको पीडामा मेरो परिवारले हामीमाथि अतिरिक्त शोक सहने शक्ति प्रदान गर्यो । दु:खको समयमा प्राप्त सबैको यो साथ र ऋणलाई यो जुनीमा चुक्ता गर्ने प्रयास गर्नेछु ।
सोही घटनामा ज्यान गुमाउन पुग्नुभएका चालक सुवास अधिकारीप्रति पनि भावपूर्ण श्रद्धाञ्जली ! सुवासको परिवारको पीडामा हामी मल्हम बन्ने छौँ !
———–
अन्त्यमा,
डा. सन्जु तिम्रो सपना र साधना हामी पूरा गर्नेछौं !
तिम्रो स्वर्गमा वास होस् !!



डा. डम्बर खड्का, जीवनसाथी