
सुर्खेत। यस बर्षको एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहिबार एसइईको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपीए ल्याएका छन्।
यस्तै ३.२० देखि ३.६० जिपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ रहेको राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा उल्लेख छ। ७२ हजार ३६२ जनाले २.८० देखि ३.२० सम्म जिपीए ल्याएका छन्।
८९ हजार ३३१ जना विद्यार्थीले २.४० देखि २.८० सम्म जिपीए ल्याएको बोर्डले जनाएको छ। २.०० देखि २.४० सम्म जिपीए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको बोर्डले जनाएको छ।
२०७९ चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा देशभर चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका १ लाख २ हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।
गत वर्षको तुलनामा यस बर्षको नतिजा राम्रो रहेको बोर्डले जनाएको छ। गत वर्ष ३.६० देखि ४.०० जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेको छ।
एसईईको नतिजा नेपाल टेलिकमको वेबसाईट see.ntc.net.np मा गएर हेर्न सकिन्छ।
कर्णाली टाइम्स
बिहीबार, असार २१, २०८०
