शनिबार, कार्तिक १०, २०८१

विशिष्ठ व्यक्तिलाई पनि स्वदेशमै उपचार गर्ने वातावरण मिलाउँदैछौं : स्वास्थ्य मन्त्री बस्नेत

  
कर्णाली टाइम्स शुक्रबार, भदौ १५, २०८०


सुर्खेत। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले देशका विशिष्ठ व्यक्तिहरुलाई स्वदेशमै उपचार गर्ने वातावरण तयार पार्न लागिएको बताएका छन्। स्वास्थ्यमा नागरिकको विद्यमान पहुँचलाई मध्यनजर गर्दै विशिष्ट र अति विशिष्ट व्यक्तित्वले पनि नेपालमै उपचार गर्ने वातावरण मिलाउन लागिएको उनले बताए।
स्वास्थ्य क्षेत्रका नियमित कार्यक्रमहरुलाई सम्बोधन गर्न सुर्खेत आईपुगेका मन्त्री बस्नेतले शुक्रबार कर्णाली प्रदेश अस्पतालको अनुगमन गर्ने क्रममा यस्तो बताएका हुन्।
‘हाम्रा भिआईपी र भिभिआईपीहरु विदेशमा उपचार गर्न जाने, गरिब तथा विपन्न परिवारले अस्पताल र स्वास्थ्यकर्मीको अनुहार समेत देख्न नपाउने विद्यमान अवस्थालाई मध्यनजर गर्दै हामीले भिआईपी र भिभीआईपीहरुले पनि नेपालमै उपचार गर्नुपर्छ भनेर लागेका छौं,’ उनले भने, ‘यसका लागि बिर अस्पताल लगायतमा सुरक्षा व्यवस्थासहितका बेड तयार पारेका छौं, तत्काल १७ जना विशेषज्ञहरुको समूह बनाएका छौं।’
प्रदेशमा रहेका ठूला अस्पतालहरुले पनि यस्तो व्यवस्था गर्न मन्त्री बस्नेतले सुझाव दिए।
उनले संविधाले प्रदत्त गरेको आधारभूत स्वास्थ्यको मौलिक हकसमेत कार्यान्वयन गर्न नसकिएको बताए।
राज्यले नेपालका स्वास्थ्यकर्मीहरुलाई मौका र हौसला दिएमा जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सक्ने उनले बताए। ‘हामीले हाम्रा स्वस्थ्यकर्मीहरुलाई मौका दियौं भने जोखिम मोलेर पनि काम गर्न सक्षम छन् भन्ने कोभिड कहामारीको बेला देखिईसकेको छ, स्वास्थ्यकर्मीको हौसलाको लागि हामी लाग्नुपर्नेछ।’ मन्त्री बस्नेतले भने।
संघीय सरकारले पनि कर्णाली प्रदेश अस्पताललाई पनि आफ्नो ठानेर सहयोग गरिरहेको बताउँदै उनले निशुल्क उपचारका लागि बेड छुट्याउन आग्रह गरे।
कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले अस्पताललाई अझ पनि सक्षम तुल्याउने योजना भएकाले संघीय सरकारको सहयोग अपरिहार्य रहेको बताए। उनले अस्पतालका लागि चाहिने विशेषज्ञहरुको परिपुर्ति गर्न संघीय सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए।